समाचार राजनीति

जेन–जी आन्दोलनप्रति प्रचण्डको समर्थन, तर तोडफोड र लूटपाटमा ‘नयाँ चेहराहरू’ संलग्न?

जेन–जी आन्दोलनप्रति प्रचण्डको समर्थन, तर तोडफोड र लूटपाटमा ‘नयाँ चेहराहरू’ संलग्न?

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी पुस्ताले अघि सारेका मागहरूको समाधान संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियामार्फत मात्र खोजिनु पर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्। बिहीबार जारी विज्ञप्तिमा प्रचण्डले हालको चुनौतीपूर्ण राजनीतिक परिस्थिति व्यवस्थापिका संसदभित्रै समाधान गर्नुपर्ने बताउँदै संविधानको विकल्प खोज्ने प्रयासले प्रतिगमनकारी शक्तिलाई मात्र लाभ हुने चेतावनी दिएका छन्।

प्रचण्डले आन्दोलनका क्रममा सहिद भएका  युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। भ्रष्टाचारविरुद्ध, सुशासन र सामाजिक न्यायका पक्षमा उठाइएका मागहरू औचित्यपूर्ण रहेको स्वीकार गर्दै उनले पहिलो दिनमै भएको कठोर सरकारी दमनले परिस्थितिलाई चर्काएको टिप्पणी गरेका छन्। उनका अनुसार, “जेन–जी पुस्ताले उठाएका माग संविधान र संसदीय प्रक्रियाभित्रै सम्बोधन गर्न सकिने खालका छन्, त्यसैले निकास पनि संविधानमै आधारित हुनुपर्छ।”

तर, प्रचण्डले आन्दोलनको दोस्रो दिन देखिएका तोडफोड, आगजनी र लूटपाटका घटनाहरू जेन–जी पुस्ताको घोषित नीति र आदर्शविपरीत रहेको स्पष्ट पारेका छन्। उनका अनुसार, अवाञ्छित तत्वहरूको घुसपैठका कारण आन्दोलनको स्वरूप बिग्रिएको छ, जसको उच्चस्तरीय न्यायिक छानबिन आवश्यक छ। उनले शान्तिपूर्ण आन्दोलनप्रति समर्थन व्यक्त गर्दै सरकारले नागरिकको आवाजलाई दमनको जवाफ दिनु गम्भीर त्रुटि भएको बताए।

विगतका जनयुद्ध, जनआन्दोलन र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिहरूको स्मरण गर्दै प्रचण्डले लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको जोड दिए। उनले प्रत्यक्ष कार्यकारी प्रणाली, सांसदलाई मन्त्री बन्न नपाउने व्यवस्था, र सम्पत्ति छानबिन आयोग गठनजस्ता माओवादी केन्द्रका फरक मतहरू अझै कायम रहेको प्रष्ट पार्दै संविधान संशोधनमार्फत समावेशी लोकतन्त्रलाई बलियो बनाउने आवश्यकता दोहोर्याए।

राष्ट्रपतिबाट भइरहेका पहल र सुरक्षा निकायको भूमिकाको सराहना गर्दै प्रचण्डले सबै पक्षलाई संयमता, संवाद र सहकार्यतर्फ उन्मुख हुन आह्वान गरेका छन्। उनका अनुसार, संविधान कार्यान्वयनका चुनौतीहरूको समाधान लोकतान्त्रिक ढाँचाभित्रै खोज्न सकियो भने समावेशी लोकतन्त्रलाई थप सुदृढ बनाउन सकिन्छ।

अन्त्यमा प्रचण्डले आन्दोलनमा देखिएका हिंसात्मक गतिविधिलाई रोक्न र शान्तिपूर्ण समाधानतर्फ अघि बढ्न सबै दल, सुरक्षासंस्था, जनसमुदाय र विशेषगरी जेन–जी पुस्तालाई उच्च राजनीतिक चेतना र धैर्यका साथ अघि बढ्न आग्रह गरेका छन्।