समाचार विदेश राजनीति

एससिओ सम्मेलनको अवसरमा नेपाल–कम्बोडिया सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता

एससिओ सम्मेलनको अवसरमा नेपाल–कम्बोडिया सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता

चीनको थियानजिनमा भइरहेको साङ्घाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनकै अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीच सोमबार दुईपक्षीय भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपाल–कम्बोडिया सम्बन्धलाई अझ सुदृढ बनाउन व्यापार, लगानी र उच्चस्तरीय भ्रमण आदानप्रदानसम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो।

दुवै मुलुकबीच ऐतिहासिक रूपमा औपचारिक कूटनीतिक सम्बन्ध १९६४ मा स्थापना भए पनि द्विपक्षीय संवाद र सहकार्य अपेक्षाकृत सीमित रहँदै आएको पृष्ठभूमिमा यस भेटलाई महत्त्वपूर्ण मानिएको छ। व्यापार र लगानी विस्तारका सम्भावनाबारे खुलेर छलफल हुनु दुवै देशका लागि नयाँ अवसरको संकेतको रूपमा लिइएको छ।

भेटमा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत नेपाली टोली सहभागी थिए।

भेटपछि तत्काल ठोस सम्झौता सार्वजनिक नभए पनि उच्चस्तरीय भेटघाट र आर्थिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता देखिनु नेपाल–कम्बोडिया सम्बन्धलाई नयाँ स्तरमा लैजाने संकेतका रूपमा हेरिएको छ। यस प्रकारका संवादले नेपालका लागि दक्षिणपूर्वी एसियाली मुलुकहरूसँगको सम्बन्ध मजबुत पार्ने मार्ग खोल्ने अपेक्षा गरिएको छ।