नेपालगन्ज नाकाबाट ९८ गाडी भन्सार गरी नेपाल प्रवेश, राजस्व संकलन पुनः सुरु!
पश्चिम नेपालको सबैभन्दा ठूलो भन्सार नाका नेपालगन्ज नाकाबाट शुक्रबारदेखि राजस्व सङ्कलन पुनः सुरु भएको छ। ‘जेनजी’ आन्दोलनका कारण अस्तव्यस्त बनेको बाँकेको जनजीवन सामान्य बन्दै गएपछि भन्सार कार्यालयले भारततर्फको रुपैडिहा इन्टिग्रेटेड चेक पोस्ट (आईसिपी) हुँदै अत्यावश्यक सामग्री नेपाल भित्र्याउन थालेको हो।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काका अनुसार शुक्रबार मात्रै पेट्रोलियम पदार्थ, तरकारी र खाद्यान्नसहित ९८ वटा गाडीलाई भन्सार प्रक्रिया पूरा गरेर नेपालगन्ज पठाइएको छ। आन्दोलनका बीच बुधबारनै ३८ वटा पेट्रोलियम पदार्थका ट्याङ्कर नेपाल प्रवेश गर्न लाग्दा आगजनी र तोडफोड सुरु भएपछि रोकिएका ती गाडीलाई प्राथमिकतामा भन्सार गरेर भित्र्याइएको उनले बताए। त्यसपछि सुरक्षाका कारण सबै गाडीलाई अस्थायी रूपमा भारततर्फको आईसिपीमा पठाइएको थियो। अवस्था सामान्य भएपछि ती गाडीलाई भन्सार गरेर पुनः नेपालतर्फ ल्याइने क्रम शुक्रबारदेखि सुरु भएको खड्काले जानकारी दिए।
भन्सार कार्यालयका तथ्याङ्कअनुसार हालसम्म भन्सार गरिएका गाडीमध्ये पहिलेका ३८ मा डिजेल, पेट्रोल, हवाई इन्धन र ग्यास बुलेट थिए भने शुक्रबार थप ६० गाडी भन्सार गरिएका छन्। तीमध्ये २१ वटा डिजेल, ११ वटा पेट्रोल, दुई हवाई इन्धनका ट्याङ्कर र २३ वटा ग्यास बुलेट रहेका छन्।
‘जेनजी’ आन्दोलनका क्रममा जयसपुरस्थित पुरानो भन्सार कार्यालय र जमुनाहा नाकाको यात्रु शाखा पूर्ण रूपमा जलाएर नष्ट पारिएको थियो। सूचना अधिकारी खड्काका अनुसार त्यहाँ रहेका मुद्दा–मामिलासम्बन्धी कागजात, कम्प्युटर, साथै लिलामीका लागि राखिएका सयौं सवारीसाधन समेत जलेर नष्ट भएका छन्। तर, आईसिपीमा भने कुनै भौतिक क्षति भएको छैन।
नेपालगन्ज नाकाबाट दैनिक चारदेखि छ करोड रुपैयाँसम्म राजस्व सङ्कलन हुने गरेकोमा दुई दिनसम्म भन्सार बन्द हुँदा ठूलो असर परेको भन्सार कार्यालयले जनाएको छ। परिस्थिती क्रमशः सामान्य हुँदै गए पनि स्थानीय व्यापार र राजस्व प्रणालीलाई ठिक बाटोमा फर्काउन अझै समय लाग्ने अनुमान गरिएको छ।