समाचार ओटोमोबाइल

अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन नाडाको आह्वान!

अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन नाडाको आह्वान!

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले हालै देशव्यापी रुपमा भएका आन्दोलन तथा प्रदर्शनका घटनाले मुलुकमा गहिरो प्रभाव पारेको भन्दै गहिरो चिन्ता प्रकट गरेको छ। भदौ २९ गते जारी विज्ञप्तिमा नाडाले ज्यान गुमाउनुपरेका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। प्रभावित परिवारहरूसँग हार्दिक समवेदना व्यक्त गर्दै नाडाले मुलुक शान्तिपूर्ण संवाद र सहमतिको बाटोबाट अघि बढ्नुपर्ने धारणा पनि स्पष्ट पारेको छ।

विज्ञप्तिमा अटोमोबाइल क्षेत्रलाई उद्योग, व्यापार र रोजगारीको आधारशिला भएको भन्दै हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको उल्लेख गरिएको छ। कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति चिन्ता बढेको र उपभोक्ता विश्वासमा नकारात्मक असर परेको नाडाको भनाइ छ। दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपिएको भन्दै नाडाले सरकारलाई व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिन आग्रह गरेको छ। साथै, अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न सरकारसँग अनुरोध गरेको छ।

नाडाले आफ्ना सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिबद्धता व्यक्त गरेको छ। संस्थाले जिम्मेवार नेतृत्व, सकारात्मक संवाद र एकताबद्ध प्रयासमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

साथै, नाडाले नेपालले इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री पाएको प्रसङ्गलाई समेत उल्लेख गर्दै छिट्टै मन्त्रिपरिषद् गठन हुने र आगामी छ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्न सरकार सक्षम  शुभकामना प्रकट गरेको छ।