फरारमध्ये २ सय बढी कैदी स्वेच्छाले कारागारमा हाजिर!
 
                                जलेश्वरस्थित जिल्ला कारागारबाट भागेका कैदीमध्ये केहीले आत्मसमर्पण गर्दै फर्किन थालेका छन् । कारागार प्रशासनका अनुसार गत भदौ २४ गते बेलुकी जेनजी प्रदर्शनको अव्यवस्थित अवस्थाको मौका पारेर भागेका ५७६ कैदीमध्ये आज बिहानसम्म २३३ जना कारागारमै फर्किएका छन् ।
कारागारका जेलर अशोक क्षेत्रीका अनुसार भागेका मध्ये ४० जना भारतीय नागरिकसमेत थिए । कैदी फरार भएको भोलिपल्टै कारागार प्रशासनले सार्वजनिक आह्वान जारी गरी स्वेच्छाले फर्कन आग्रह गरेको थियो । सो आह्वानपछि दुई सयभन्दा बढी कैदीबन्दी फर्किएका र अझै आउने क्रम जारी रहेको क्षेत्रीले बताए ।
उनका अनुसार १२ जना कैदीलाई भारतीय प्रहरीले सीमा नजिकै पक्राउ गरी पुनः कारागारमा बुझाउन सहयोग गरेको छ । बाँकी कैदी भने आफैं फर्किएका हुन् । तर अझै ३४३ जना कैदी फरार अवस्थामा छन् ।
क्षेत्रीका अनुसार भदौ २४ गते करिब ७ बजे जेनजीको नाममा करिब ५०० को संख्यामा आएका प्रदर्शनकारीले कारागारका तीन तहका ढोका तोडेर कैदीबन्दीलाई भगाएका थिए ।
यसबीच, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बाँकी फरार कैदीलाई पक्राउ गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र बलसमेत परिचालन गरी खोजीकार्य जारी राखिएको जानकारी दिए ।
जलेश्वर कारागारमा उत्पन्न यस घटनाले सुरक्षाको संवेदनशीलता र प्रदर्शनको नाममा आपराधिक गतिविधि नियन्त्रणमा राज्यको चुनौती पुनः देखाएको छ, जसले दीर्घकालीन सुधार र प्रभावकारी कारागार व्यवस्थापनको आवश्यकता औंल्याएको छ ।
 
                         
                                                         
                                                         
                                                         
                                                