राजनीति

माओवादी केन्द्रले केन्द्रीय समिति विघटन गर्ने तयारी, प्रचण्ड संयोजकत्वमा नयाँ आयोजक समिति!

माओवादी केन्द्रले केन्द्रीय समिति विघटन गर्ने तयारी, प्रचण्ड संयोजकत्वमा नयाँ आयोजक समिति!

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले संगठनात्मक पुनर्गठनका लागि महत्त्वपूर्ण निर्णय गरेको छ। आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकले हालको केन्द्रीय समिति विघटन गरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा आयोजक समिति गठन गर्ने प्रस्ताव आगामी केन्द्रीय समिति बैठकमा लैजाने निष्कर्ष निकालेको हो।

उपाध्यक्ष अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी बाटोबारे विस्तृत रुपमा जानकारी गराएका थिए। सापकोटाले नेतृत्व हस्तान्तरणसम्बन्धी विधि र प्रक्रियाबारे प्रारम्भिक छलफल समेत भएको उल्लेख गर्दै फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने विषयमा पनि बैठकले जोड दिएको बताए।

पार्टीले स्थायी समिति बैठक असोज ८ गते र केन्द्रीय समिति बैठक असोज ९ गते बस्नेगरी तालिका तय गरेको छ। बैठकले आगामी कार्यक्रमलाई स्पष्ट पार्दै लोकतान्त्रिक रूपान्तरण र देशभक्त शक्तिहरूलाई एउटै मोर्चामा ल्याउन अपिल गर्ने निर्णय गरेको सापकोटाले बताए।

माओवादी केन्द्रको यस कदमलाई महाधिवेशनतर्फ उन्मुख प्रक्रियाको सुरुवातका रूपमा हेरिएको छ, जसले संगठनलाई आगामी राजनीतिक चरणमा कसरी एकताबद्ध र प्रभावकारी बनाउन सकिन्छ भन्ने प्रश्नलाई केन्द्रीय बनाउने देखिन्छ।