नेपालका हिमालमा बढ्दो आरोहण, ६३ करोडभन्दा बढी राजस्व संकलन; जलवायु परिवर्तनले थप चुनौती

नेपालका हिमालहरूमा आरोहण गर्ने पर्यटकहरूको सङ्ख्या पछिल्ला वर्षहरूमा निरन्तर बढ्दो क्रममा छ । पर्यटन विभागका अनुसार गत वर्ष मात्र विभिन्न हिमाल र पिक आरोहणमार्फत कुल रु. ६३ करोड ८२ लाख ९४ हजार ९७९ राजस्व संकलन भएको छ, जसले नेपालको पर्वतीय पर्यटन अझै आकर्षक बन्दै गएको संकेत गर्छ ।
ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल (८,५५६ मिटर) मा गत मार्च १ देखि अप्रिल २१ सम्म २६ पुरुष र १५ महिला गरी ४१ जनाले सफल आरोहण गरेका थिए । यसबाट मात्र रु. १ करोड ९७ हजार ४६० राजस्व आएको विभागले जनाएको छ । सोही अवधिमा सङ्खुवासभाको मकालु हिमालमा ६६ आरोहीले चुचुरो चुम्दा रु. १ करोड ६२ लाख ६९ हजार ४८० संकलन भएको थियो । यसैबीच, विश्वकै अग्लो सगरमाथा हिमालमा ३०२ पुरुष र ७२ महिला गरी ३७४ जनाले आरोहण गर्दा रु. ५५ करोड ४९ लाख ९० हजार २७८ राजस्व संकलन भएको छ ।
गत याममा मात्रै २३ हिमाल र पिकका शिखरहरू सफलतापूर्वक आरोहण भएका थिए । कुल ६७८ पुरुष र १९१ महिला गरी ८६९ आरोही (नेपाली तथा विदेशी) ले सफल आरोहण गरेका थिए । यी तथ्याङ्कहरूले नेपालको हिमाली भूगोल अझै विश्व पर्वतारोहणको प्रमुख केन्द्र बनेको देखाउँछ ।
नेपालका हिमालहरू विश्वको पर्वतीय संरचनामा विशेष स्थानमा छन् । विश्वका १० अग्ला चुचुरामध्ये आठवटा नेपालमै छन्—सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण–१ । बाँकी दुई (के–२ र नाङ्गा पर्वत) पाकिस्तानमा छन् । तर यी हिमालहरूको भौगोलिक स्वरूप जलवायु परिवर्तनसँगै तीव्र रूपमा बदलिँदै गएको तथ्य वैज्ञानिक अध्ययनहरूले देखाएका छन् ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सन् २०२१ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा हिमरेखा वार्षिक औसत ६.५ मिटरले माथि सर्दै गएको छ । सो अवधिमा त्यहाँका हिमतालको सङ्ख्या २७ बाट बढेर ४९ पुगेको छ । यसले हिमाली भू–परिवर्तनलाई प्रत्यक्ष देखाउँछ । इसिमोडको अर्को अध्ययन “हिमालयन वाटर सिक्युरिटी” (२०२२) ले नेपालमा प्रतिदशक तापक्रम ०.३ देखि ०.५ डिग्री सेल्सियसले बढिरहेको निष्कर्ष दिएको छ । यसले हिमनदी पग्लने दर बढाएको र त्यसको असर खेतीपाती, पशुपालन, खानेपानी तथा स्थानीय जीविकोपार्जनमा प्रत्यक्ष परेको तथ्य उल्लेख छ ।
यस्तो अवस्थामा नेपालले हिमाली पर्यटनलाई दिगो बनाउन जलवायु अनुकूलन र दीर्घकालीन रणनीति तत्काल कार्यान्वयन गर्नु अपरिहार्य देखिन्छ । हिमनदीहरूको ह्रासले केवल पर्वतारोहण उद्योग मात्र होइन, सम्पूर्ण जलस्रोत प्रणाली र खाद्य सुरक्षामा समेत गहिरो असर पार्ने संकेत अध्ययनहरूले दिइरहेका छन् ।