जबरजस्ती करणीमा सजाय पाएका कैदी पुनः नियन्त्रणमा
 
                                जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका कैदी रुद्रबहादुर तामाङलाई प्रहरीले ओखलढुङ्गामा पक्राउ गरेको छ। जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका तामाङ ओखलढुङ्गाको मोलुङ गाउँपालिका–६ घरका हुन्।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विजय कार्कीका अनुसार विशेष सूचनाका आधारमा प्राप्चा प्रहरी चौकीबाट खटिएको टोलीले मोलुङ गाउँपालिका–५ मा तामाङलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कैद भुक्तानीका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।
यसअघि पनि ओखलढुङ्गाको चिशंखुगढी–८ बाट अर्को फरार कैदी पक्राउ परेका थिए। हालैका घटनापछि फरार कैदीहरूलाई नियन्त्रणमा ल्याउन सुरक्षा निकायले निगरानी र तलासी अभियान थप कडा पारेको प्रहरीले जानकारी दिएको छ।
देशका विभिन्न कारागारबाट भागेकामध्ये केहीलाई नियन्त्रणमा लिइसकिएको र बाँकी कैदीहरूको खोजी कार्य तीव्र पारिएको सुरक्षा अधिकारीहरूले बताएका छन्। यसले कारागार व्यवस्थापन र सुरक्षा संयन्त्रप्रति थप प्रश्न उठाएको छ, जसलाई सम्बोधन गर्नु अबको चुनौती बन्ने देखिन्छ।
 
                         
                                                         
                                                         
                                                         
                                                