अपराध सुरक्षा

जेनजी आन्दोलनको बीचमा नख्खु–झुम्काबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ!

जेनजी आन्दोलनको बीचमा नख्खु–झुम्काबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ!

जेनजी आन्दोलनका क्रममा फरार भएका तीन जना कैदीलाई प्रहरीले सङ्खुवासभामा नियन्त्रणमा लिएको छ।

प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरिएको हो। चोरी मुद्दामा दोषी ठहर भई नख्खु कारागारमा कैद भुक्तान गरिरहेका राईलाई आफ्नै घरबाट नियन्त्रणमा लिइएको उनले बताए।

त्यस्तै, झुम्का कारागारबाट भागेका दुई कैदी पनि पक्राउ परेका छन्। जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चैनपुर नगरपालिका–९ का ३१ वर्षीय सुभाष तामाङ र चिचिला गाउँपालिका–२ का ५७ वर्षीय गोम्बु शेर्पालाई पनि प्रहरीले पक्राउ गरेको निरीक्षक लामिछानेले जानकारी दिए।

तीनै जना फरारलाई पक्राउ गरेपछि जिल्ला कारागार प्रशासनले बुधबारसम्म झुम्का कारागार पठाउने तयारी गरेको प्रमुख जेलर राजन घिमिरेले बताए। उनका अनुसार खाँदबारीस्थित जिल्ला कारागारमा हाल १३१ पुरुष, आठ महिला कैदीबन्दी र दुई आश्रित बालबालिका रहेका छन्।

जेनजी आन्दोलनका घटनाक्रमसँगै देशभर कैदी फरारका घटना सार्वजनिक भइरहेका बेला यसपटक प्रहरीले गरेको कारबाहीले स्थानीय सुरक्षाप्रति केही विश्वास दिलाएको देखिन्छ।