सिराहामा अपहरणमा परेका किशोर अभिषेक महतो मृत फेला!
 
                                सिराहाको गोलबजार नगरपालिका–१३ डंग्राहामा आइतबार राति अपहरणमा परेका १७ वर्षीय अभिषेक महतो सोमबार बिहान मृत फेला परेका छन्। प्रहरीले दिएको विवरणअनुसार उनको शव घरदेखि करिब एक सय मिटर पूर्वतर्फको आँप बगैँचामा भेटिएको हो।
महतो आइतबार राति खाना खाएपछि आफ्नै ट्याक्टर चलाउँदै घर नजिकैको चोकतर्फ हिँडेका थिए। तर घर फर्किन नआएपछि परिवारजनले रातभर गाउँछिमेकमा खोजतलास गरेका थिए। सोमबार बिहान महतो परिवारको मोबाइलमा इमोमार्फत पाँच करोड रुपैयाँ फिरौती मागिएको संदेश आएको र त्यसपछि परिवारले इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएको प्रहरीको भनाइ छ।
परिवारजनका अनुसार अपहरणकारी समूहले अभिषेकको आमाको मोबाइलमा ‘छोरा जिउँदो चाहिएमा पाँच करोड बुझाउनुपर्छ’ भन्ने धम्की पठाएको थियो। त्यसको केही घण्टामै उनको शव फेला परेको हो।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्द साहले घटना गम्भीर भएकाले प्रारम्भिक अनुसन्धान सुरु गरिएको बताए। “संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याइनेछ,” उनले भने। जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी धर्मेशकुमार यादवका अनुसार घटनास्थलको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसमेत ल्याउने तयारी भइरहेको छ।
स्थानीय समुदायमा भय र आक्रोश बढाएको यस घटनाले ग्रामीण क्षेत्रमा अपहरण र आपराधिक गतिविधि नियन्त्रणमा सुरक्षासंस्थाको चुनौतीलाई पुनः उजागर गरेको छ।
 
                         
                                                         
                                                         
                                                         
                                                