खेल

बेलबारीमा असोज २६ देखि आठौं गोल्डकप, नेपाल–भारतका ८ टोली सहभागी!

बेलबारीमा असोज २६ देखि आठौं गोल्डकप, नेपाल–भारतका ८ टोली सहभागी!

मोरङको बेलबारीस्थित एलएक्स सिटी फुटबल क्लबले असोज २६ गतेदेखि कात्तिक १ गतेसम्म बेलबारी गोल्डकपको आठौं संस्करण आयोजना गर्ने घोषणा गरेको छ। क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितासम्बन्धी तयारी र विवरण सार्वजनिक गरेको हो।

बेलबारी–११ को लक्ष्मी खेलमैदानमा हुने यस प्रतियोगितामा नेपाल र भारतका आठ टोली सहभागी हुनेछन्। नेपालतर्फ आयोजक एलएक्स सिटी फुटबल क्लबसँगै साबिक विजेता झापा–११, उपविजेता सलहेश युवा क्लब सिरहा, चर्च ब्वाइज युनाइटेड ललितपुर, बी डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेड, रारा फुटबल क्लब राजारानी (धनकुटा) र भोजपुर जिल्ला फुटबल सङ्घ रहनेछन्। भारतबाट लिजेन्ड फुटबल एकेडेमीले सहभागिता जनाउनेछ।

आयोजकका अनुसार, विजेता टोलीले नगद आठ लाख रुपैयाँसहित गोल्डकप ट्रफि प्राप्त गर्नेछ भने उपविजेताले चार लाख रुपैयाँ पाउनेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ र उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा उदयीमान खेलाडीलाई जनही ११ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीलाई सात हजार रुपैयाँ पुरस्कार दिइने व्यवस्था गरिएको छ।

बेलबारी नगरपालिकाको मुख्य सहयोग, आरजु राइस मिलको मुख्य प्रायोजन र गोर्खा ब्रुअरीको सहप्रायोजनमा आयोजना हुने यो प्रतियोगिता सम्पन्न गर्न ६३ लाख ७८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजकले टिकट तथा अन्य आम्दानीमार्फत ७२ लाख १ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको जनाएको छ।

स्थानीयस्तरमा खेलकुदको विकाससँगै क्षेत्रीय फुटबललाई अन्तर्राष्ट्रिय रंगमञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना भइरहेको यस प्रतियोगिता आगामी दिनमा खेलाडी उत्पादन र क्लब फुटबलको स्तर उकास्न महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।