राजनीति

पत्रकारको सुरक्षामा अब गृह मन्त्रालयसँग प्रत्यक्ष छलफल हुने, मन्त्री खरेलको प्रतिवद्धता!

पत्रकारको सुरक्षामा अब गृह मन्त्रालयसँग प्रत्यक्ष छलफल हुने, मन्त्री खरेलको प्रतिवद्धता!

 सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारको पेशागत र भौतिक सुरक्षाबारे राज्यका निकायहरूसँग औपचारिक छलफल गर्ने प्रतिबद्धता जनाउनुभएको छ। नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा असोज ७ गते आयोजित हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले गृहमन्त्रीलगायत सम्बन्धित निकायसँग पत्रकार सुरक्षाको एजेन्डा उठाउने बताउनुभयो।

उहाँले गत चैत १५ गते काठमाडौं तीनकुनेमा भएको प्रदर्शन कवरेजका क्रममा निधन भएका एभिन्यूज टेलिभिजनका क्यामरापर्सन सुरेश रजकसहित विभिन्न आन्दोलन र प्रदर्शनमा ज्यान गुमाएका वा घाइते भएका पत्रकारका घटनामा छानबिन र न्याय सुनिश्चित गर्न मन्त्रालय अग्रसर हुने आश्वासन दिनुभयो। उहाँका भनाइमा, “सम्मानले परिवारलाई धैर्यता र साहस दिन्छ, रजकको न्यायका लागि मन्त्रालय तत्पर रहनेछ। गृहमन्त्रीसँग छलफल गर्छु, प्रधानमन्त्रीलाई पनि कुरा राख्छु।”

मन्त्री खरेलले पत्रकारिता स्वभावतः जोखिमपूर्ण पेसा भएको स्मरण गर्दै लोकतन्त्र र समाजका लागि पत्रकार निरन्तर अग्रपङ्तिमा खटिनुपर्ने बाध्यता औंल्याउनुभयो। उहाँले सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) लाई स्वतन्त्र, जवाफदेही, व्यावसायिक र आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा पनि जोड दिनुभयो। “रेडियो नेपाल र नेपाल टेलिभिजन मर्ज हुनु नै पिएसबी हो भन्ने सोचमा सीमित नहौं। वास्तविक अर्थमा जवाफदेही र व्यावसायिक पिएसबी निर्माण गर्नुपर्छ भन्नेमा म विश्वस्त छु,” उहाँको भनाइ थियो।

समारोहमा मन्त्रालयकी सचिव राधिका अर्यालले पत्रकार रजकको परिवारले उठाएको न्यायको माग सम्बोधन गर्न मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। परिवारले दोषीलाई कारबाहीको दायरामा ल्याउन जोड दिएको छ। त्यस्तै, सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले संस्थागत रूपान्तरणलाई सही दिशामा लैजान सबैको सहयोग आवश्यक रहेको बताउँदै पिएसबीलाई स्पष्ट रूपमा परिभाषित गर्ने आवश्यकता औंल्याउनुभयो।

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष सुरेन्द्र पौडेलले पिएसबीको मर्मअनुसार पूर्ण सञ्चालन र स्थिर बजेट सुनिश्चित गर्न आग्रह गर्नुभयो। उहाँले बजेटको अभावमा नेपाल टेलिभिजनका पाँचै च्यानल सञ्चालनमा कठिनाइ देखिएको बताउनुभयो।

हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार २०६४ सालदेखि साहसिक कार्य गर्ने टेलिभिजन पत्रकारलाई प्रदान हुँदै आएको छ। असोज ७ गते आयोजित कार्यक्रममा स्व. पत्रकार हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापना गरिएको एक लाख राशिको यो पुरस्कार यस वर्ष मरणोपरान्त पत्रकार सुरेश रजकलाई प्रदान गरिएको हो। भण्डारी र सिंह विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा समाचार सङ्कलनका क्रममा भएको हवाई दुर्घटनामा निधन भएका थिए।

सुरक्षा, स्वतन्त्रता र आत्मनिर्भरता सम्बन्धी बहसले देखाएको संकेत यही हो—पत्रकारिता निरन्तर जोखिम बोकेरै अगाडि बढ्छ, र त्यसलाई सुरक्षित र दिगो बनाउन राज्य र समाज दुवैको समान जिम्मेवारी रहन्छ।