राजनीति

अध्यक्ष ओलीको आह्वान: युवाले जिम्मेवारीपूर्वक देश निर्माणमा लाग्नुपर्छ!

अध्यक्ष ओलीको आह्वान: युवाले जिम्मेवारीपूर्वक देश निर्माणमा लाग्नुपर्छ!

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई जिम्मेवार र सकारात्मक भूमिकासहित देश निर्माणमा लाग्न आग्रह गरेका छन्। भक्तपुर सूर्यविनायकस्थित निवासमा युवा सङ्घ नेपालका पदाधिकारी र कार्यकर्तालाई सम्बोधन गर्दै उनले युवाले देशभक्तिको भाव र अनुशासनका साथ अघि बढ्नुपर्ने बताएका हुन्।

ओलीका अनुसार समाजलाई सुसंस्कृत, सभ्य र विकसित बनाउन युवाको भूमिका निर्णायक हुन्छ। उनले भने, “युवाले असभ्य र गैरजिम्मेवार व्यवहार गर्नु हुँदैन। देश र समाजप्रतिको कर्तव्य बुझेर काम गर्नुपर्छ, हावामा कुदेर होइन।”

हालैको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै ओलीले त्यस्ता गतिविधि देश र जनताप्रतिको माया गर्ने मान्छेले गर्न नसक्ने टिप्पणी गरे। उनले आन्दोलनका नाममा हिंसा र अराजकता बढ्नुले समाजलाई क्षति पुर्‍याउने चेतावनीसमेत दिए।

देशले कठिनाइ र अवरोध झेले पनि आशा नहराउने सन्देश दिँदै ओलीले भने, “बादल लाग्यो भन्दैमा आकाश सधैंँ अन्धकार रहँदैन। साँझ परेपछि बिहानी पनि आउँछ। उज्यालो हुन्छ। हामीले हरेस खानु हुँदैन।”

उनको भनाइले निराशाभन्दा आशावादी सोच राख्दै राजनीतिक स्थिरता र सामाजिक जिम्मेवारीतर्फ युवालाई केन्द्रित गराउने संकेत गरेको देखिन्छ।