प्रधानमन्त्री कार्की र मेयर बालेनबीच बालुवाटारमा करिब दुई घण्टा लामो भेटघाट!
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) मंगलबार बिहान प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन्। प्रधानमन्त्री निवासमा करिब पौने दुई घण्टा उनीहरूबीच छलफल भएको स्रोतले जनाएको छ। साह बिहान सवा ८ बजे बालुवाटार पुगेका थिए।
साह र कार्कीबीचको यो भेटलाई विशेष ध्यानका साथ हेरिएको छ, किनभने जेनजी आन्दोलन र हालको सत्ता संरचनामा साह निर्णायक भूमिका खेलेका नेतामध्ये एक मानिन्छन्। तर, प्रधानमन्त्री कार्कीको शपथग्रहण समारोहमा साह अनुपस्थित रहनुले राजनीतिक वृत्तमा थप जिज्ञासा बढाएको थियो।
साहसँगको छलफलपछि प्रधानमन्त्री कार्कीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज केसीसँग पनि भेट गरेकी थिइन्। त्यस्तै, मंगलबार नै प्रधानसेनापति अशोकराज सिग्देल सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग भेटघाट गरेका थिए।
लगातार भइरहेका यी भेटघाटहरूले नयाँ सरकार गठनपश्चात् उच्च तहमा जारी राजनीतिक र प्रशासनिक समन्वयलाई देखाउँछन्। बालुवाटारको पछिल्लो गतिविधिले सरकार र स्थानीय निकायबीचको सम्बन्ध कसरी अघि बढ्छ भन्ने प्रश्नलाई अझ प्रस्ट्याइरहेको छ।