जेनजी आन्दोलनमा लुटिएका हतियारसहित कैलालीमा ४ जना पक्राउ!
 
                                कैलाली प्रहरीले जेनजी आन्दोलनको क्रममा काठमाडौंमा लुटिएको हतियारसहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले दुईवटा पेस्तोल र त्यससँगै प्रयोग गर्न सकिने गोली बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका–१ का २२ वर्षीय हिमाल आचार्य, वडा नम्बर ३ का १९ वर्षीय आभाष चन्द, १९ वर्षीय समीर खड्का र २२ वर्षीय जिवेश सापकोटा रहेका छन्।
अपराध महाशाखाबाट प्राप्त सूचनाको आधारमा गरिएको खोजतलासमा खड्काको घरबाट एकथान पेस्तोल, म्यागजिन र २८ राउण्ड गोली फेला परेको चन्दले जानकारी दिए। त्यस्तै, आभाष चन्दको साथबाट एकथान रिभल्वर बरामद गरिएको छ।
प्रहरीका अनुसार यी हतियार काठमाडौं उपत्यकास्थित ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट जेनजी आन्दोलनकै क्रममा लुटिएको खुलेको छ। यस घटनाले आन्दोलनका नाममा भडकिएका समूहको गतिविधि कति खतरनाक मोडमा पुग्न सक्ने हो भन्ने प्रश्न अझ गम्भीर रूपमा उठाएको छ।
 
                         
                                                         
                                                         
                                                         
                                                