खेल

एसिसी टी–२० एसिया कप सुपर चारमा पाकिस्तान पाँच विकेटले विजयी!

एसिसी टी–२० एसिया कप सुपर चारमा पाकिस्तान पाँच विकेटले विजयी!

एसिसी टी–२० एसिया कपको सुपर चारमा पाकिस्तानले श्रीलङ्कामाथि पाँच विकेटको जित निकाल्दै फाइनल प्रवेशको सम्भावना जीवित राखेको छ। मङ्गलबार राति अबुधाबीस्थित जायद क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानले श्रीलङ्काले प्रस्तुत गरेको १३४ रनको लक्ष्य १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

यसअघि श्रीलङ्काले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३३ रन जोडेको थियो। कामिन्दु मेन्डिसले सर्वाधिक ५० रन बनाए भने कप्तान चरिथ असलङ्का २०, चामिका करुणारत्ने १७ अविजित, कुशल परेरा र वानिन्दु हसरङ्गाले १५–१५ रनको योगदान दिए।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले तीन विकेट झारे भने ह्यारिस रौफ र हुसेन टलाटले दुई–दुई तथा अब्रार अहमदले एक विकेट लिएका थिए।

जवाफी ब्याटिङमा पाकिस्तानका मोहम्मद नवाज ३८ अविजित रनसहित शीर्ष योगदानकर्ता बने। हुसेन टलाटले ३२ अविजित, शहिवजादा फरानले २४, फखर जमानले १७ र मोहम्मद ह्यारिसले १३ रन बनाए। श्रीलङ्काका महेश तिक्क्षणा र वानिन्दु हसरङ्गाले दुई–दुई विकेट लिए भने दुश्मन्था चामिराले एक विकेट हात पारे।

यो जितसँगै पाकिस्तानले सुपर चारको दुई खेलबाट दुई अङ्क जोड्दै आशा कायम राखेको छ। भारतसँगको पहिलो खेलमा ६ विकेटले पराजित भएको पाकिस्तानले यस पटक पुनरागमन गरेको हो। लगातार दोस्रो हार व्यहोरेपछि बङ्गलादेशसँग पराजित श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ।

यो नतिजाले फाइनलतर्फको प्रतिस्पर्धा अझ रोचक बनाएको छ, जहाँ पाकिस्तानले बाँकी खेलमा जित निकाल्न सके निर्णायक प्रवेश गर्नेछ।