एमाले नेतृ उषाकिरण तिम्सिनाको असन्तोष : ओली नेतृत्वको शैलीकै कारण आन्दोलनमा क्षति!
जेनजी आन्दोलनपछि एमालेभित्रको विवाद फेरि सतहमा आएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व शैलीविरुद्ध पहिले नै असन्तोष व्यक्त गर्दै आन्तरिक सुधारको आवाज उठाउने नेतामध्ये केन्द्रीय सदस्य उषाकिरण तिम्सिना प्रमुख मानिन्छिन्। उनीमाथि पार्टीले अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै निलम्बन गर्ने निर्णय गरेको थियो, तर पछि फुकुवा गरियो।
तिम्सिनामाथि छानबिन समिति गठन गरी स्पष्टीकरण मागिएको थियो। पार्टी नेतृत्वले उनको जवाफलाई असन्तोषजनक ठहर गरेपछि केही समयका लागि बैठक, कार्यक्रम र निर्णय प्रक्रियाबाट अलग गरिएको थियो। यस्तै प्रक्रियामा विगतमा विन्दा पाण्डे पनि निलम्बित भएकी थिइन् भने पूर्व उपाध्यक्ष भिम रावललाई साधारण सदस्यता समेत खोसिएको थियो।
तिम्सिनाले पछिल्ला दिनमा सार्वजनिक रूपमा ओली नेतृत्वप्रति असहमति जनाउँदै जेनजी आन्दोलनका क्रममा एमाले कार्यकर्ता र नेताका घर जल्ने अवस्था आउनु नेतृत्वको राजनीतिक शैलीकै परिणाम भएको टिप्पणी गरेकी छिन्।
यो प्रसङ्गले एमालेभित्र पुस्तान्तरण र नेतृत्व हस्तान्तरणबारे उठेका प्रश्नलाई अझ प्रष्ट्याएको छ। अनुशासन र असहमतिको सन्तुलन कसरी मिलाइन्छ भन्ने चुनौती भने अझै ज्यूँका त्यूँ देखिन्छ।