सभापति देउवा र डा. आरजु राणा पूर्ण स्वस्थ, आन्तरिक व्यवस्थापनपछि मात्र अस्पतालबाट डिस्चार्ज हुने
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पूर्ण रूपमा स्वास्थ्यलाभ गरिसकेको नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन्। उनका अनुसार देउवा दम्पती—पूर्वमन्त्री डा. आरजु राणा देउवासहित—को स्वास्थ्यमा सुधार आए पनि उनीहरूले अस्पतालबाट डिस्चार्ज हुन आन्तरिक व्यवस्थापनका लागि केही समय मागेका छन्।
बस्नेतले भने, “उहाँहरूको स्वास्थ्यमा पूर्ण सुधार आएको छ, तर व्यवस्थापन पूरा भएपछि मात्र उहाँहरू अस्पताल छाड्नुहुनेछ।”
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी गर्दै घरमा प्रवेश गरेका थिए। त्यतिबेला आक्रमणबाट देउवा दम्पतीलाई सेनाले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो। हालसम्म उनीहरू सेनाको सुरक्षा घेराभित्रै रहेका छन्।