माओवादी बैठकमा आन्तरिक असन्तुष्टिका विषयमा छलफल हुने!
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बिहीबारदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदैछ। बैठकमा पदाधिकारी र स्थायी समितिले गरेका निर्णयमाथि औपचारिक छलफल हुने एजेन्डा तय गरिएको छ। तर पार्टीभित्रै एकथरी नेताले यसलाई केवल प्रक्रियागत छलफलमा सीमित नराखी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रत्यक्ष प्रश्नहरू उठाउनुपर्ने बताएका छन्।
गत केन्द्रीय समिति बैठकमै प्रचण्डमाथि परिवारवाद हावी गरेको आरोप लागेको थियो। त्यसबेला विवादलाई टार्न सफल भए पनि अब जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक परिवेश, आन्दोलनकै क्रममा उठेका प्रश्न, र पार्टी नेतृत्वप्रति बढ्दो असन्तुष्टिको जवाफ दिनुपर्ने दबाब बढेको छ।
प्रचण्डले जनवर्गीय संगठनदेखि केन्द्रीय समिति भङ्ग गर्ने प्रस्तावसम्म अघि बढाउने तयारी गरेको भन्दै केही नेताहरूले यसलाई आफ्नो प्रभुत्व कायम राख्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। तर बैठकअघि नै उनको निवास र छोरी गंगा दाहालको निवासमा भएको आगजनी प्रकरण, गंगाद्वारा निर्माण भएको भनिएको करोडौंको घर, ज्वाँई जीवन आचार्यलगायत परिवारको सम्पत्ति स्रोत, चितवनदेखि काठमाडौंसम्मका निवास खर्चसमेत सार्वजनिक गर्नुपर्ने माग उठ्नसक्ने संकेत देखिएको छ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हालै कांग्रेस नेता शेरबहादुर देउवा र आरजु राणाको निवासमा भेटिएका जलेका नोटबारे छानबिन गरिरहेको छ। सोसँगै प्रचण्डको निवासमा भेटिएको भनिएको जलेको नोटबारे पनि अनुसन्धान भइरहेको बताइएको छ। पार्टीका युवापुस्ताले भने केन्द्रीय समितिमा नै प्रश्न गर्नुपर्ने ठानेका छन्—“अध्यक्ष प्रचण्ड, तपाईंको निवासमा जलेको भनिएको पैसाको सत्य के हो?”
यस्तै, प्रचण्डले जेनजी आन्दोलनअघि संसददेखि सिंहदरबारसम्म जल्छ भन्ने अभिव्यक्ति दिएको, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पेट्रोल बम प्रहार भएको, वाईसीएल र पूर्वछापामार संरचनाको सक्रियता, अनि आफ्नो निवासमा जलेको भनिएको पैसाको विवादबारे पनि उत्तर दिनुपर्ने माग पार्टीभित्र बढेको छ।
बैठकमा प्रचण्डले सबै पदीय दायित्व खारेज गरी आफू मात्र संयोजक रहने प्रस्ताव अघि सार्ने तयारी गरेको जानकारी छ। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनावको घोषणा गर्दा सडक आन्दोलनमा उत्रिएको औचित्य के थियो? भन्ने प्रश्न पनि उठ्नुपर्ने अपेक्षा गरिएको छ।
फागुन २१ गतेका लागि घोषित मध्यावधि निर्वाचनमा माओवादी जाने निर्णयलाई कतिपयले प्रश्न गर्न थालेका छन्, किनभने नेपाली कांग्रेसले संसद विघटनलाई गैरसंवैधानिक ठहर गरेको छ। यस्ता संवेदनशील र पेचिला प्रश्नको जवाफ नआए बैठक केवल औपचारिकतामा सीमित हुने चिन्ता पनि पार्टीभित्र बढ्दो छ।