प्रचण्डको भनाइः लोकतन्त्र रक्षाका लागि फागुन २१ को निर्वाचन सम्पन्न गर्नुपर्ने!
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रलाई मजबुत पार्न फागुन २१ गते तोकिएको निर्वाचन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन्। प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टीले यसका लागि वातावरण बनाउन विशेष जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने धारणा राखे।
उनका अनुसार जेनजी आन्दोलनपश्चात तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि नयाँ सरकार गठनको अवस्था नबनेको कारण पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो। सो सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते निर्वाचन तोकेको स्मरण गर्दै प्रचण्डले माओवादी केन्द्रले त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन सक्रिय सहयोग गर्ने बताए।
उनले लोकतन्त्र रक्षाका लागि समयमै निर्वाचन सम्पन्न गर्नु अपरिहार्य भएको भन्दै पार्टी कार्यकर्तालाई त्यसका लागि तयारी र मेहनतमा जुट्न आह्वान गरे।