एसिसी टी–२० एसिया कप फाइनलमा भारत, बङ्गलादेशलाई ४१ रनले हरायो!

युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटको फाइनलमा भारत प्रवेश गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार राति भएको सुपर चारको खेलमा भारतले बङ्गलादेशलाई ४१ रनले हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो। अभिषेक शर्माले ४१ बलमा ७५ रनसहित उत्कृष्ट प्रदर्शन गरे भने हार्दिक पाण्डेयाले ३८, शुभमन गिलले २९ र अक्षर पटेलले अविजित १० रन जोडे। बङ्गलादेशका राशिद होसेनले दुई विकेट लिए भने तान्जिम हसन साकिब, मुस्ताफिजुर रहमान र मोहम्मद सैफुद्दिनले एक–एक विकेट हात पारे।
१६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा सीमित भयो। सैफ हसनले ६९ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। परवेज हसन इटनले २१ रन बनाए भने बाँकी खेलाडी दोहोरो अंकमा पुगेनन्।
भारतका कुलदीप यादवले तीन विकेट लिए भने वरुण चक्रवर्ती र जसप्रित बुमराहले दुई–दुई विकेट हात पारे। तिलक वर्मा र अक्षर पटेलले एक–एक विकेट जोडे।
यो नतिजासँगै भारतले सुपर चारमा दुई खेलमै चार अंक जोड्दै फाइनलमा स्थान पक्का गरेको छ। बङ्गलादेशको दुई खेलबाट दुई अंक मात्र छ। भारतको निरन्तरता र बलियो टोली संयोजनले यस संस्करणमा उपाधि बचाउने सम्भावना अझ प्रष्ट पारेको छ।