समाचार

बडादसैंको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना!

बडादसैंको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना!

बडादसैँको चौथो दिन आज नौ दुर्गामध्येकी कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना भइरहेको छ। शास्त्रीय परम्परा अनुसार आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डाको पूजा गरिन्छ, जसलाई त्रिविध ताप—आध्यात्मिक, आधिभौतिक र आधिदैविक—हटाउने शक्ति भएको विश्वास गरिन्छ। पुराणहरूमा देवी कुष्माण्डालाई सुरायुक्त घडा र रक्तपूर्ण पात्र धारण गर्ने स्वरूपमा चित्रण गरिएको छ।

श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा कुष्माण्डालाई “त्रिविध तापयुक्त संसारको उदररूपमा आसीन शक्ति” भनेर व्याख्या गरिएको पाइन्छ। धार्मिक विश्वास अनुसार उनको आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने भनिन्छ।

यसअघि नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको आह्वान गरी पूजा गरिएको थियो। आज कुष्माण्डा देवीको पूजा सम्पन्न भएपछि भोलिदेखि स्कन्दमाता, त्यसपछि क्रमशः कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा गरिँदै नौ दिनको नवरात्र सम्पन्न हुनेछ।

यस अवधिभर घटस्थापनास्थलमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत लगायतका देवी स्तोत्रहरूको पाठ गरिन्छ भने विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद ग्रहण गर्ने परम्परा छ, जसअन्तर्गत दशैंलाई पन्ध्र दिन लामो पर्वका रूपमा मनाइन्छ।

देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड देखिएको छ। काठमाडौं उपत्यकामा गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, भद्रकाली, शोभाभगवती, नक्साल भगवतीलगायत मन्दिरमा पूजाआराधना र दर्शन गर्नेहरूको घुइँचो लागेको छ। उपत्यकाबाहिर पनि मनकामना, पाल्चोक भगवती, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारा लगायतका शक्तिपीठमा चाडपर्वको रौनक थपिएको छ।

सांस्कृतिक र धार्मिक दृष्टिले नौ दिनको नवरात्रलाई शक्ति, श्रद्धा र सामूहिक आस्थाको पर्व मानिन्छ, जसले हरेक वर्ष भक्तजनलाई सामाजिक–धार्मिक एकताको अनुभव गराउँछ।