राजनीति

अध्यक्ष ओलीद्वारा लोकतन्त्र र दलीय व्यवस्थाप्रति घृणा फैलाउने प्रवृत्तिप्रति सचेत रहन आग्रह

अध्यक्ष ओलीद्वारा लोकतन्त्र र दलीय व्यवस्थाप्रति घृणा फैलाउने प्रवृत्तिप्रति सचेत रहन आग्रह

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र दलीय व्यवस्थाप्रति घृणा फैलाउने प्रवृत्तिले मुलुकलाई गतिहीन बनाउने खतरा बढेको टिप्पणी गरेका छन्। उनले राजनीतिक प्रतिस्पर्धा र मतदानमार्फत प्रतिनिधि छान्ने व्यवस्थामाथि अविश्वास फैलाउने प्रयासप्रति सचेत रहन सबै लोकतान्त्रिक शक्तिलाई आग्रह गरेका छन्।

भक्तपुर गुन्डुस्थित निवासमा प्रेस चौतारी नेपालका प्रतिनिधिहरूसँगको छलफलमा ओलीले दलबिहीनताको पक्षमा उभिनु मुलुकको हितमा नहुने बताए। उनका अनुसार “विवेकशून्य, क्षतिग्रस्त दिमागले अराजकताको पैरवी गर्छ,” र दलीय राजनीतिबाट मात्र देशको राजनीतिक स्थिरता सुनिश्चित गर्न सकिन्छ।

ओलीले जेनजी आन्दोलनका मागलाई वैध भने पनि आन्दोलनको नाममा भएको आगजनी र ध्वंसात्मक गतिविधिलाई युवा पुस्तामाथि थोपर्न नहुने स्पष्ट पारे। उनले भने, “जेनजी पुस्ताले नेपालको झण्डा ओढेर सिंहदरबार जलाउँदैन, शेरबहादुरजी र आरजुजीमाथि अमानवीय व्यवहार पनि गर्न सक्दैन। जेनजी पुस्तालाई देशमाथि माया छ।”

उनले प्रतिशोधपूर्ण अभिव्यक्तिले सामाजिक सद्भावलाई नष्ट गर्न खोजिएको र सांस्कृतिक सम्पदामाथि भएको आक्रमणलाई ‘सांस्कृतिक विचलन’ को संज्ञा दिए। ओलीका अनुसार हालको क्षतिले समाजलाई चौथाई शताब्दी पछाडि धकेलेको छ र अब मुलुक खरानीबाट उठ्नुपर्ने चुनौतीपूर्ण मोडमा पुगेको छ।

देशलाई समृद्धितर्फ डोर्याउन राजनीतिक दलहरूले जिम्मेवारीपूर्वक आफ्नै पंक्तिभित्र समाधान खोज्नुपर्ने उनको भनाइ थियो। साथै, उनले प्रेस तथा वाक स्वतन्त्रता कठिन संघर्षपछि प्राप्त भएकाले पत्रकारलाई सत्यमा अडिग रहँदै समाचार र विचार सम्प्रेषण गर्न आग्रह गरे।

जेनजी आन्दोलनपछिको उथलपुथलबीच ओलीको चेतावनीले लोकतन्त्रप्रति अविश्वास फैलाउने गतिविधि थप तीव्र भए मुलुक अझै अनिश्चिततामा फस्ने संकेत गरेको देखिन्छ।