राजनीति

माओवादी केन्द्रले सम्पत्ति छानबिन आयोग गठन र नेताको सम्पत्ति सार्वजनिक गर्ने तयारी!

माओवादी केन्द्रले सम्पत्ति छानबिन आयोग गठन र नेताको सम्पत्ति सार्वजनिक गर्ने तयारी!

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्। उनले नेताको पारदर्शिता र जनविश्वास कायम गर्न यो कदम आवश्यक रहेको स्पष्ट पारे।

प्रचण्डले पार्टीका सबै तहका नेतृत्वले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्नेमा जोड दिँदै, “अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ,” भनेका छन्। उनका अनुसार संगठनात्मक काम मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण अपरिहार्य छ।

बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म जनमुखी बनाउन लिखित सुझाव पेस गर्न निर्देशन दिएका छन्। यसले पार्टीभित्रको अनुशासन र व्यवहार सुधारलाई पनि प्राथमिकतामा ल्याउने संकेत गरेको छ।

बैठक सकिएसँगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुने छ। निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आवश्यक वातावरण निर्माणमा पार्टीले पहल गर्ने निर्णय समेत गरिएको छ।

माओवादी नेतृत्वले गरेको पारदर्शिता र जीवनशैली सुधारको घोषणा राजनीतिक संस्कृति बदल्ने कडा अपेक्षासहित आएको छ, जसको प्रभाव पार्टीभित्र मात्र नभई मुलुकको राजनीतिक व्यवहारमा पनि पर्न सक्ने अनुमान गरिएको छ।