एमाले सचिवालय बैठक आइतबार, जेन–जेड आन्दोलनपछिको रणनीति तय हुने
नेकपा (एमाले) को सचिवालय बैठक आइतबार बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजेका लागि बैठक आह्वान गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। बैठक गुन्डुस्थित ओली निवासमै बस्ने तय भएको छ।
गौतमका अनुसार, हालैको जेन–जेड आन्दोलनपछि देशमा देखिएका राजनीतिक घटनाक्रम र त्यसले एमालेभित्र पारेको प्रभावबारे बैठकमा मुख्य छलफल हुनेछ। उहाँका भनाइमा, आन्दोलनपछिको सन्दर्भमा पार्टीले लिनुपर्ने भूमिका, संगठन सुदृढीकरणका उपाय र आगामी राजनीतिक कार्यक्रमबारे ठोस निर्णय गर्ने तयारी गरिएको छ।
गौतमले बैठकलाई पार्टीको “नयाँ कार्यदिशा र रणनीतिक पुनःसमायोजन तय गर्ने अवसर”का रूपमा वर्णन गर्नुभयो। जेन–जेड आन्दोलनले विद्यमान नेतृत्व र संरचनाबारे प्रश्न खडा गरेको पृष्ठभूमिमा एमालेले अब कसरी आफूलाई पुनःस्थापित गर्ने भन्ने प्रसंग यस बैठकमा निर्णायक बन्ने अपेक्षा गरिएको छ।
राजनीतिक संक्रमण र बढ्दो असन्तोषबीच हुने यो छलफलले एमालेको आगामी बाटो कस्तो रहने हो भन्ने संकेत दिनेछ।