नेपालले पहिलो टी–२० आई खेलमा वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक जित दर्ता गर्यो!

नेपाली क्रिकेटले शनिबार राति नयाँ अध्याय लेखेको छ। वेस्ट इन्डिजजस्तो पूर्वविश्व विजेतालाई पहिलो पटक टी–२० अन्तर्राष्ट्रियमा हराउँदै नेपालले ऐतिहासिक जित दर्ता गरेको हो।
त्रिनिडाडमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रनको चुनौतीपूर्ण योगफल खडा गर्यो। कप्तान रोहित पौडेलले संयमित ३८ रन (३५ बल, ३ चौका, १ छक्का) बनाए भने कुशल मल्लले २१ बलमा ३० रन जोडे। गुल्शन झाले २२ रन पुर्याए भने दिपेन्द्रसिंह ऐरीले १७ रनको योगदान दिए।
लक्ष्य पछ्याउन मैदानमा उत्रिएको वेस्ट इन्डिज बलिङ आक्रमणसँग जुझ्न सकेन। निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमै सीमित भएपछि नेपाल १९ रनले विजयी भयो। घरेलु टोलीका लागि नविन विदायसीले २२ रन बनाए भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९–१९ रन जोडे।
नेपालका बलरले सन्तुलित प्रदर्शन गरेका थिए। कुशल भुर्तेलले ४ ओभरमा १७ रन मात्र दिएर २ विकेट हात पारे। कप्तान पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक–एक विकेट लिएका थिए।
यस जितलाई नेपाली क्रिकेटका लागि ऐतिहासिक मानिएको छ। २००६ मा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सुरु भएपछि वेस्ट इन्डिज दुई पटकको विश्व विजेता बनेको थियो। त्यस्तो टोलीविरुद्ध नेपालले दर्ता गरेको यो नतिजाले आगामी खेलप्रति थप अपेक्षा जगाएको छ।