विदेश

गाजा युद्ध अन्त्यका लागि ट्रम्पलाई इजरायली बन्धक परिवारको अपिल

गाजा युद्ध अन्त्यका लागि ट्रम्पलाई इजरायली बन्धक परिवारको अपिल

गाजामा जारी युद्ध अन्त्यका लागि तयार गरिएको प्रस्तावित सम्झौता दृढतापूर्वक कार्यान्वयन गर्न आग्रह गर्दै इजरायली बन्धक परिवारहरूले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुला पत्र सार्वजनिक गरेका छन्। यो अपिल ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच व्हाइट हाउसमा तय भएको भेटवार्ता हुनुअघि केही घण्टामै गरिएको हो।

होस्टेज एन्ड मिसिङ फेमिलिज फोरम नामक संस्थाले लेखेको पत्रमा भनिएको छ, “तपाईँले अघि सारेको सम्झौतालाई तोड्ने कुनै पनि प्रयासविरुद्ध दृढ रहन हामी आदरपूर्वक आग्रह गर्दछौँ। जोखिम निकै ठूलो छ, हाम्रा परिवारले यस प्रगतिलाई विफल पार्ने कुनै पनि अवरोधका लागि धेरै लामो समय प्रतीक्षा गरेका छन्।”

गत हप्ता संयुक्त राष्ट्र महासभाको साइडलाइनमा अरब र मुस्लिम नेतासँग छलफल गरेपछि राष्ट्रपति ट्रम्पले २१ बुँदे शान्ति प्रस्ताव प्रस्तुत गरेका थिए। सो योजनालाई युद्धविराम सम्भावनाको नजिक पुगेको संकेतका रूपमा व्याख्या गरिएको छ। यही कारणले बन्धक परिवारहरूले आफ्नो मागलाई थप बलियो बनाएका हुन्। फोरमले यसअघि पनि नेतान्याहुमाथि युद्धविराम प्रयासहरूलाई बारम्बार तोडफोड गरेको र बन्धकहरूको रिहाइ अवरुद्ध गरेको आरोप लगाउँदै आएको छ।

कतारमा यसै महिनाको प्रारम्भतिर हमास नेतामाथि गरिएको इजरायली आक्रमणपछि पनि फोरमले नेतान्याहुलाई सम्झौता भत्काउनेतर्फ औंल्याएको थियो। ट्रम्पलाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ, “तपाईँसँग मात्र यो सम्झौतालाई अन्तिम टप्पासम्म पुर्याउने शक्ति छ, र हामी तपाईंको समर्थनका लागि हृदयदेखि आभारी छौँ।”

यता प्रधानमन्त्री नेतान्याहुले भने युद्ध रोक्नेतर्फ संकेत नदिएको स्पष्ट देखिन्छ। उनले संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्दै हमासविरुद्ध “काम समाप्त गर्ने” प्रतिज्ञा गरेका थिए र प्रमुख पश्चिमी मुलुकले समर्थन गरेको प्यालेस्टिनी राज्यलाई रोकिने बताए। गाजा सहरमा जारी आक्रमणका कारण लाखौँ मानिस विस्थापित भइरहेका बेला नेतान्याहुले कुनै युद्धविराम सम्भावना प्रस्तुत नगरेको देखिन्छ।

युद्ध अन्त्य र बन्धकको सुरक्षित फिर्तीलाई एउटै प्राथमिकता दिनुपर्ने परिवारहरूको अपिल इजरायली नेतृत्वको कठोर धारणा र अमेरिकी मध्यस्थताबीचको विरोधाभास झल्काउने उदाहरण बनेको छ। परिवारहरूले भने ट्रम्पलाई आफ्ना विश्वासमा अडिग रहन प्रेरणा दिँदै, युद्धभन्दा शान्ति र मानवीय मूल्यलाई प्राथमिकता दिन निरन्तर आग्रह गरेका छन्।