समाचार राजनीति

प्रधानमन्त्री ओली एससिओ शिखर सम्मेलन सकेर स्वदेश फर्किँदै

प्रधानमन्त्री ओली एससिओ शिखर सम्मेलन सकेर स्वदेश फर्किँदै

प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनमा सम्पन्न साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिएपछि बुधबार स्वदेश फर्कने भएका छन्। उहाँ भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको थियो।

यस अवधिमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गर्नुभयो र शिखर सम्मेलनलाई सम्बोधन गर्नुभयो। नेपाल सन् २०१६ देखि एससिओमा संवाद साझेदारका रूपमा आवद्ध रहँदै आएको छ। सन् २००१ मा स्थापना भएको यो सङ्गठन अहिले चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुससहितका राष्ट्रहरूको पूर्ण सदस्यतामा विस्तार भइसकेको छ। अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्र हुन् भने नेपालसहित टर्की, श्रीलङ्का, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, माल्दिभ्स, म्यान्मार, बहराइन र संयुक्त अरब इमिरेट्स संवाद साझेदार राष्ट्र हुन्।

शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री हुन सेन, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो। यसअघि मङ्गलबार उहाँले बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग पनि छलफल गर्नुभएको थियो।

प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा तथा अन्य उच्च सरकारी अधिकारी सहभागी रहेका छन्।

नेपालले आफ्नो भौगोलिक र सामरिक स्थिति अनुसार एससिओजस्ता बहुपक्षीय संस्थामा सक्रियता देखाएको यसपटकको सहभागिता थप उदाहरण बनेको छ। अब प्रधानमन्त्री ओलीको स्वदेश फिर्तीसँगै यस यात्राले नेपाल–चीन सम्बन्ध र क्षेत्रीय कूटनीतिक सन्तुलनमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न सतहमा उत्रिएको छ।