फेसबुकमै ताजा पोस्ट गर्ने प्रधानमन्त्री, तर सरकारले फेसबुकमै लगायो प्रतिबन्ध

प्रधानमन्त्री केपी शर्मा ओलीले १२ घण्टा अघि मात्र फेसबुकमार्फत कलाकार इन्दिरा गोलेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। तर, सोही प्लेटफर्मसहित २६ वटा सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गर्न सरकारकै निर्देशन सार्वजनिक भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार इन्टरनेट सेवा प्रदायकहरूलाई फेसबुक, इन्स्टाग्राम, युट्युब, ट्विटर (एक्स), व्हाट्सएपसहितका लोकप्रिय सामाजिक सञ्जाल बन्द गर्न आदेश दिएको हो। मन्त्रालयस्तरीय निर्णयका आधारमा गरिएको उक्त आदेशले जनस्तरमा गम्भीर बहस र आलोचना निम्त्याएको छ।
सरकारको आदेश जारी भएसँगै प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमै सरकारको दोहोरो व्यवहारमाथि प्रश्न उठाइरहेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, “प्रधानमन्त्रीले फेसबुकमै पोस्ट गरेर जनतालाई संवेदना दिन सक्छन् तर हामीलाई भने फेसबुकमै निषेध? यो त हास्यास्पद हो।”
प्राधिकरणका अनुसार सूचीकरण नभएका प्लेटफर्मलाई मात्र बन्द गर्ने तयारी भएको हो। तर, स्थानीय ‘हाम्रो पात्रो’ भने ह्वाइट लिस्टमा परेकोले बन्द नहुने प्रवक्ता गजेन्द्र ठाकुरले बताए। उनले मेटासँग प्रारम्भिक प्रक्रिया सुरु भएको तर अझैसम्म छूट नपाएको पनि स्पष्ट पारे।
यता, सञ्चारविज्ञहरूले भने सरकारले आफैं प्रयोग गर्ने प्लेटफर्म आम जनतालाई निषेध गर्नु लोकतान्त्रिक मूल्यविपरीत भएको तर्क गर्दै जनविश्वासमा धक्का पुग्ने चेतावनी दिएका छन्।
प्रधानमन्त्रीकै सक्रिय फेसबुक पोस्ट र सरकारकै प्रतिबन्ध आदेशबीचको यो विरोधाभासले अब नेपालमा डिजिटल स्वतन्त्रता र सरकारी नियमनबीचको टकराव अझ तीव्र हुने संकेत गरेको देखिन्छ।