प्रचण्डको चेतावनी: खेलकुदमा माओवादीको हस्तक्षेप बिना ‘क्रान्तिकारी रूपान्तरण असम्भव

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेलकुद क्षेत्रको विकासका लागि आफ्नो पार्टी र त्यससँग सम्बन्धित संगठनको सक्रिय हस्तक्षेप अपरिहार्य भएको टिप्पणी गर्नुभएको छ।
अखिल नेपाल खेलकुद महासंघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले खेल क्षेत्रमा क्रान्तिकारी रूपान्तरण पार्टीगत एकता र संगठनात्मक गतिबाट मात्र सम्भव हुने धारणा व्यक्त गर्नुभयो। उहाँका शब्दमा, “अखिल नेपाल खेलकुद महासंघको हस्तक्षेप बिना, हाम्रो एकता र गति बिना यो क्षेत्रमा क्रान्तिकारी रूपान्तरण सम्भव छैन।”
अध्यक्ष प्रचण्डले विगतमा माओवादी नेतृत्वको सरकारले खेलकुद मन्त्रालय र परिषद् सम्हालेको समयमा क्रिकेट रंगशालालगायतका राष्ट्रिय गौरवका परियोजना अघि बढाइएको र पूर्वाधारमा उल्लेखनीय प्रगति भएको उदाहरण प्रस्तुत गर्नुभयो। हालको सरकारले भने राष्ट्रिय खेलकुद कार्यक्रमहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा रोकिरहेको आरोप उहाँले लगाउनुभयो।
उहाँले खेलकुदलाई पेशागत वातावरणसहितको क्षेत्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै लगानी, खेलाडीहरूको जीवनको ग्यारेन्टी र पेशागत ढाँचा तयार पारिए नेपाली युवाले विश्वस्तरमा रेकर्ड कायम गर्न सक्ने सम्भावना भएको तर्क गर्नुभयो।
सम्मेलनमा उहाँले अखिल नेपाल खेलकुद महासंघलाई “जनताको खेल र रूपान्तरणको अभियान” को रूपमा अघि बढाएकोमा खुसी व्यक्त गर्दै महासंघ उत्कृष्ट खेलाडीहरूको साझा संगठनका रूपमा स्थापित भएकोमा बधाई दिनुभयो।
राजनीतिक भाषणभन्दा पर, प्रचण्डको सन्देशले खेलकुद क्षेत्र अझै राज्यको प्राथमिकतामा नपुगेको संकेत गर्छ। उहाँको अभिव्यक्तिले खेललाई केवल मनोरञ्जन नभई राष्ट्रिय गौरव र अर्थतन्त्रसँग गाँसिएको क्षेत्रमा रूपान्तरण गर्न सकिने दृष्टिकोणलाई पुनः सतहमा ल्याएको छ। अब सवाल के हो भने—सत्तामा को भए पनि, खेल क्षेत्रलाई निरन्तरता र दीर्घकालीन योजनासहित अघि बढाउने राजनीतिक इच्छाशक्ति कति बलियो हुन्छ?