समाचार राजनीति

एमाले विधान महाधिवेशनमा प्रतिवेदनमाथि छलफल, १० समूहमा २,३४१ प्रतिनिधिको सहभागिता

एमाले विधान महाधिवेशनमा प्रतिवेदनमाथि छलफल, १० समूहमा २,३४१ प्रतिनिधिको सहभागिता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी छ । शनिबारदेखि महाधिवेशनले प्रस्तुत प्रतिवेदनमाथि औपचारिक छलफल थालिएको छ । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सातै प्रदेशका प्रतिनिधि, उपत्यका, प्रवास र विभिन्न जनसंगठनलाई समेटेर सहभागीहरूलाई १० वटा समूहमा विभाजन गरी छलफल अघि बढाइएको हो ।

गौतमले जानकारी दिएअनुसार कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरू छुट्टाछुट्टै समूहमा बसेका छन् । यस्तै उपत्यका विशेष प्रदेश, प्रवास, सम्पर्क समन्वय समिति, केन्द्रीय निकाय तथा विभागीय संरचनाका प्रतिनिधिलाई समेटेर अन्य समूह बनाइएको छ ।

महाधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी पार्टीका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन पेश गरेका थिए ।

शनिबार भने केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरे ।

“निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य” भन्ने मूल नारासहित सुरु भएको महाधिवेशनमा देशभरका २,०२६ प्रतिनिधि सहभागी छन् भने आयोजकका हैसियतमा थप ३१५ जनासहित कुल २,३४१ जनाको उपस्थिति छ ।

महाधिवेशनको प्रतिवेदनमाथिको बहसले पार्टीको आगामी संरचना, नीतिगत दिशा र नेतृत्वको दृष्टिकोण स्पष्ट पार्ने अपेक्षा गरिएको छ, जसको असर नेपाली राजनीतिक परिदृश्यमा दीर्घकालीन हुने देखिन्छ ।