समाचार राजनीति

विगतका कामको स्मरण गर्दै प्रचण्डले जनतालाई सुशासन र समृद्धिको प्रतिबद्धता व्यक्त!

विगतका कामको स्मरण गर्दै प्रचण्डले जनतालाई सुशासन र समृद्धिको प्रतिबद्धता व्यक्त!

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीप्रति जनताको विश्वास अझै कायम रहेको दाबी गर्नुभएको छ। मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत आइतबार लमजुङको सुन्दरबजार नगरपालिका–९, भोँटेओडारमा आयोजित सभामा उहाँले विगतका तीनवटै सरकारमा आफू नेतृत्वमा रहेर जनपक्षीय काम गरेको स्मरण गर्दै फेरि एकपटक सेवा गर्ने अवसर दिन आग्रह गर्नुभयो।

प्रचण्डले २०६४ सालको निर्वाचनमा जनताले दिएको समर्थन सम्झिँदै भन्नुभयो, “२०६४ मा जस्तै एक पटक मत दिनुस्, हामी सुशासन र सामाजिक न्याय दिनेछौं।” उहाँले आत्मआलोचना र आत्मसमीक्षासहित आगामी दिनमा लमजुङलगायत मुलुकभर विकास र समृद्धि पुर्‍याउने संकल्प व्यक्त गर्नुभयो।

सभामा उहाँले माओवादी नेतृत्वको पहिलो सरकारका उपलब्धिहरू स्मरण गर्दै मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उत्तर–दक्षिण कोरिडोर निर्माण र गरिब किसानका लागि ३० हजार रुपैयाँसम्मको ऋण मिनाहालगायत कदमको उल्लेख गर्नुभयो। दोस्रो कार्यकालमा संविधान निर्माण र लोडसेडिङ अन्त्यजस्ता कामलाई माओवादी नेतृत्वको योगदानका रूपमा प्रस्तुत गर्दै उहाँले तेस्रो कार्यकालमा जलवायु न्यायलाई अन्तर्राष्ट्रिय मुद्दा बनाएको, भारत–बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गरेको र चीनसँग १४ नाका खोल्ने पहल गरेको बताउनुभयो।

प्रचण्डका अनुसार पार्टीले धेरै जनपक्षीय काम गरे पनि प्रचार–प्रसारको कमीले जनतामा पर्याप्त जानकारी पुग्न सकेको छैन। तर उहाँले पार्टी अझै जनतामुखी ढङ्गले काम गरिरहेको र भविष्यमा ठूलो दल बन्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, नन्दकिशोर पुन, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङलगायत नेताहरूको उपस्थिति थियो।

मध्यपहाडी लोकमार्ग अभियान गत जेठ २ गते बैतडीको पाटनबाट सुरु भए पनि बर्खाका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको थियो। आइतबार बिहान लमजुङको कार्यक्रममा सहभागिता जनाएपछि सहिद परिवारसँग अन्तर्क्रिया र जनसंवादमा सहभागी हुने योजना अनुसार प्रचण्डसहितको टोली साँझ गोरखाको पालुङटार प्रस्थान गरेको माओवादी केन्द्र लमजुङका संयोजक रामचन्द्र पौडेलले जानकारी दिनुभयो।

माओवादी नेतृत्वले सुरू गरेको यो अभियान भौतिक पूर्वाधार, सामाजिक न्याय र सुशासनका मुद्दामा जनतासँग प्रत्यक्ष संवाद गर्ने प्रयासका रूपमा अघि बढाइँदै छ, जसले आगामी राजनीतिक यात्रामा समर्थनको वास्तविक तौल देखाउने संकेत दिएको छ।