समाचार राजनीति

जनताको निराशा बढ्दै, तर प्रचण्ड भन्छन्– बुढीगण्डकी अवरुद्ध हुँदैन

जनताको निराशा बढ्दै, तर प्रचण्ड भन्छन्– बुढीगण्डकी अवरुद्ध हुँदैन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको रूपमा घोषित बुढीगण्डकी जलविद्युत् आयोजना अवरुद्ध नहुने दाबी गर्नुभएको छ। गोरखा जिल्ला, पालुङटार नगरपालिका–५, ठाँटी पोखरीमा आइतबार आयोजित जनसंवाद कार्यक्रममा उहाँले स्रोत सुनिश्चित गर्दै आयोजनाको निर्माण प्रक्रिया अघि बढिरहेको र हालसम्म करिब ५० अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिनुभयो। दाहालका अनुसार आफू प्रधानमन्त्री भएका बेला बालुवाटारमा पटक–पटक बहस तथा छलफल गरेर उक्त आयोजना अघि बढाउने तयारी गरिएको थियो।

उहाँले बुढीगण्डकी केवल गोरखाको मात्र नभई राष्ट्रकै अर्थतन्त्रलाई टेवा दिने संरचना भएको भन्दै दीर्घकालीन महत्त्व जोड दिनुभयो। नेपालमा ऊर्जा उत्पादनमा निरन्तर बढ्दो मागका बीच आयोजना पूरा भए देशको ऊर्जा सुरक्षामा ठूलो योगदान पुग्ने विश्लेषकहरूले पनि बताउँदै आएका छन्।

यसै अवसरमा दाहालले गोरखाको पालुङटार नगरपालिकाको च्याङ्ली क्षेत्रमा कृषि औद्योगिक क्षेत्र निर्माण गर्ने विषयमा चीन सरकारसँग सैद्धान्तिक सहमति भएको खुलासा गर्नुभयो। उहाँका अनुसार चीनको प्राविधिक टोलीले पालुङटारमा सम्भाव्यता अध्ययन समेत गरिसकेको छ।

कार्यक्रममा वर्तमान एमाले नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै दाहालले राजनीतिक नेतृत्वले विकास र समृद्धिलाई प्राथमिकता दिनुपर्ने आवश्यकता दोहोर्‍याउनुभयो। बुढीगण्डकी जस्ता आयोजना र कृषि औद्योगिक क्षेत्रजस्ता दीर्घकालीन योजनाहरू समयमै सम्पन्न भए जनजीविकामा प्रत्यक्ष प्रभाव पार्ने स्पष्ट देखिन्छ, तर त्यसका लागि राजनीतिक इच्छाशक्ति र स्थिर नीति निरन्तरतामाथि ठूलो प्रश्न खडा भइरहेको छ।