समाचार राजनीति

बन्द गरिएका सामाजिक सञ्जाल खोल्ने सरकारी तयारी!

बन्द गरिएका सामाजिक सञ्जाल खोल्ने सरकारी तयारी!

काठमाडौंमा जेनजीको आन्दोलन तीव्र बनेर ठूलो मानवीय क्षति भएको केही घण्टामै सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध हटाउने संकेत दिएको छ। सोमबार मात्रै काठमाडौंमा १७ र इटहरीमा २ जनाको ज्यान गयो भने चार सयभन्दा बढी घाइते भए। यस्तै तनावपूर्ण अवस्थाबीच सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बन्द गरिएका सामाजिक सञ्जाल छिट्टै खुल्ने घोषणा गरेका हुन्।

उनका अनुसार आन्दोलनकारी युवाहरूको मागलाई सम्बोधन गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ। “सामाजिक सञ्जाल छिट्टै खुल्छन्,” उनले भने, “सरकारले जेनजीको मागलाई सम्बोधन गर्ने निर्णय गरिसकेको छ।”

सरकारले गत बिहीबार रातिदेखि फेसबुक, एक्सलगायत दुई दर्जनभन्दा बढी सामाजिक सञ्जाल सूचीकरणमा नआएको भन्दै बन्द गरेको थियो। तर उक्त कदमलाई युवाहरूले अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहारका रूपमा लिएर सडकमा उत्रिएपछि घटनाले हिंस्रक रूप लिएको हो।

सामाजिक सञ्जाल निषेधाज्ञा फुकुवाको यो संकेत सरकारको पछिल्लो कदमलाई पुनर्विचार गर्न बाध्य बनाएको छ।