रास्वपाका सबै सांसदको सामूहिक राजीनामा तयारी! संसद र सरकार दुवै संकटमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै प्रतिनिधि सभा सदस्यहरूले सरकारविरुद्ध कडा दबाब सिर्जना गर्न सामूहिक राजीनामा दिने तयारी थालेका छन्। हालैको सामाजिक सञ्जाल प्रतिबन्ध, प्रहरी दमन र बढ्दो जनआक्रोशको बीचमा पार्टीले संसदबाट बाहिरिने रणनीति अपनाउने संकेत दिएको हो।
पार्टीका स्रोतहरूका अनुसार, संसदमा रास्वपाको सम्पूर्ण प्रतिनिधित्व खाली गरेर सरकारलाई स्पष्ट सन्देश दिने योजना बनेको छ। राजीनामा बुझाउने निश्चित मिति औपचारिक रूपमा घोषणा नभए पनि, निकट भविष्यमा यो कदम सार्वजनिक हुने उच्चस्तरीय छलफलमा निर्णय भइसकेको बताइएको छ।
राजनीतिक विश्लेषकहरूले रास्वपाको कदमलाई ‘जनतासँगको सम्बन्ध पुनर्स्थापना’ र युवाहरूको आन्दोलित भावनामा प्रत्यक्ष समर्थनको रूपमा व्याख्या गरेका छन्। यो निर्णयले आन्दोलनमा उर्जा थप्ने मात्र होइन, संसद भित्र शक्ति समीकरणसमेत उल्ट्याउने संकेत देखिएको छ।
यसअघि रास्वपाले प्रधानमन्त्रीको तत्काल राजीनामा र नयाँ निर्वाचनको माग गर्दै सरकारविरुद्ध तीव्र दबाब सिर्जना गरेको थियो। पार्टीका शीर्ष नेताहरूले सरकारको राजनीतिक वैधता समाप्त भएको भन्दै उच्चस्तरीय छानबिन आयोग गठनको माग पनि अघि सारेका छन्।
यद्यपि, सामूहिक राजीनामापछि मुलुकमा राजनीतिक संकट थप गहिरिने प्रबल सम्भावना देखिएको छ। विपक्षी दलहरूको प्रतिक्रिया, सरकारको नयाँ रणनीति र आन्दोलनको आगामी दिशा अब निर्णायक हुने देखिन्छ।