नेपाली कांग्रेसका महामन्त्री थापा र शर्माद्वारा प्रधानमन्त्रीलाई राजीनामाको आग्रह, मन्त्री फिर्ता बोलाउन सभापति देउवालाई दबाब
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको बाटो खोल्न आग्रह गरेका छन्।
दुवै महामन्त्रीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई फिर्ता बोलाउन सभापति शेरबहादुर देउवालाई अनुरोध गरेका छन्। उनीहरूले सात बुँदे समझदारीको औचित्य अब समाप्त भएको भन्दै कांग्रेसले सरकारमा निरन्तर बसिरहन सक्ने आधार हराएको स्पष्ट पारेका छन्।
विज्ञप्तिमा भनिएको छ, “सरकार सही ढंगले चलेन, सच्चिनुपर्छ भनेर पटक–पटक आग्रह गरियो। तर न सरकार सुधारियो, न प्रधानमन्त्रीको शैलीमा परिवर्तन आयो। सामाजिक सञ्जाल खोल, भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गर जस्ता न्यायोचित माग बोकेर सडकमा निस्किएका ‘जेनजी पुस्ता’ माथिको दमन निन्दनीय छ।”
थापा र शर्माले सरकारमा कांग्रेसको सहभागिता कायम राख्ने कि फिर्ता हुने भन्ने विषयमा अब ढिलाइ नगरी निर्णय लिन सभापति देउवालाई आग्रह गरेका छन्। अन्यथा आफूहरू अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएका छन्।
युवा पुस्ताको आन्दोलनलाई संयमित र शान्तिपूर्ण बनाउन कांग्रेसले सक्रियरूपमा भूमिका खेल्नुपर्ने भन्दै दुवै नेताले पार्टी संरचना र समर्थकलाई अपील गरेका छन्। साथै, सबै राजनीतिक दललाई खुला संवादमार्फत बर्तमान संकट समाधान गर्ने साझा पहलमा हातेमालो गर्न पनि आग्रह गरिएको छ।
नेपालको राजनीतिक स्थिरता, सामाजिक असन्तोष र नयाँ पुस्ताको मागबीच कांग्रेस नेतृत्वको यो चेतावनी सत्ताको समीकरणलाई निर्णायक मोडतर्फ डोर्याउने संकेत देखिएको छ।