समाचार राजनीति

प्रधानमन्त्रीको राजिनामा!

प्रधानमन्त्रीको राजिनामा!

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका छन्। उनकाे सचिवालयले दिएको जानकारीअनुसार, पछिल्ला दिनमा बढ्दै गएको आन्दोलन र त्यसक्रममा भएको ठूलो जनधनको क्षतिपछि उनले पद छाड्ने निर्णय गरेका हुन्।

सोमबार आयोजित प्रदर्शनमा जेनजी पुस्ताका युवाहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र दीर्घकालीन भ्रष्टाचारविरुद्ध सडकमा आवाज बुलन्द गरेका थिए। तर, त्यस क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा १९ जनाको ज्यान गएको सरकारी तथ्याङ्कले देखाएको छ। यति ठूलो क्षति भोगेपछि आन्दोलन मंगलबार अझ चर्किँदै विभिन्न ठाउँमा तोडफोड र आगजनीसम्म पुगेको थियो।

राजधानीसहितका सहरहरूमा चर्किएको जनआन्दोलनलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई कठिन भएको परिस्थितिमा प्रधानमन्त्री ओलीले पदबाट अलग हुने घोषणा गरेका हुन्। नेपालमा राजनीतिक अस्थिरतासँगै सडकमा देखिएको युवा पुस्ताको असन्तोषले अबका दिनमा राज्य र समाज दुबैका लागि गहिरो चुनौती खडा गर्ने संकेत दिएको छ।