समाचार

भारतीय राजदूतावासमा मनाईयो ७५ औं गणतन्त्र दिवस

भारतीय राजदूतावासमा मनाईयो ७५ औं गणतन्त्र दिवस

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासमा आज शुक्रबार माघ १२ गते जनवरी २६ मा भारतको ७५ औं गणतन्त्र दिवस भव्य रुपमा मनाईएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्रको दिवसको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ भएको थियो । सो अवसरमा उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरुलाई पनि शुभकामना व्यक्त गरेका थिए ।

तत्पश्चात कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो । राष्ट्रपतिले मुर्मूले आफ्नो सन्देशमा गत स्वतन्त्रता दिवस यता विभिन्न क्षेत्रमा भारतले हासिल गरेको उपलब्धि विशेष गरी भारतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न जी–२० शिखर सम्मेलन र चन्द्रयान–३ मिशन बारे चर्चा गरेकी थिइन् ।

कार्यक्रमका दौरानमा राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेरु. ५.०७ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरिएको थियो ।

सेवानिवृत्त सैनिकहरुलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउदै दूतावासले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरु समावेश गरिएको भूपू–२०२४ पत्रिकाको लोकार्पण गरेको छ ।

राजदूत श्रीवास्तवले विभिन्न संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान गरे । दूतावासले भारतको ७५औँ गणतन्त्र दिवसको अवसरमा ३० वटा संस्थालाई १९ लाख नेपाली रुपैँया बराबरको पुस्तक उपहारस्वरुप वितरण गर्दैछ ।

कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा नेपालका तर्फबाट उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्धय पूर्ण बहादुर खड्का, नारायणकाजी श्रेष्ठ, अन्य मन्त्रीहरु लगायत नेपाल सरकारका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । दूतावासको सामाजिक सञ्जाल प्लाटफर्ममार्फत उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो ।

भारतीय राजदूतावास