समाचार

भारतीय दूतावासले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

भारतीय दूतावासले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । बुधबार माइती नेपालसँगको सहकार्यमा माइती नेपालको प्रांगणमा अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।

“Invest in Women: Accelerate Progress” and “Inspire Inclusion” भन्ने नाराका साथ महिलाहरुको योगदानको सम्मान एवम् कदर गर्न उक्त कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपालकै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य प्रमुख अतिथिको रुपमा उपस्थिती रहेको थियो ।

कार्यक्रममा माइती नेपालकी संस्थापक अनुराधा कोइरालासँगै भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव पनि सहभागी रहेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सामाजिक संघसंस्थाका प्रतिनिधि, माइती नेपालका छात्राहरु लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नारी दिवसको महत्वमाथि प्रकाश पार्दै माइती नेपालले नेपाली महिलाको हित र समृद्धीका लागि गरेको अथक प्रयासको प्रशंसा गरे । त्यस्तै उनले सन् २०१७ मा भारत सरकारले श्रीमती कोइरालालाई प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको उल्लेख गर्दै उनले यस क्षेत्रमा पुर्याएको प्रयासलाई भारत सरकारले पनि कदर गरेको बताए ।

त्यस्तै एमाले नेतृ समेत रहेकी पहिलो महिला मुख्यमन्त्री शाक्यले भारत र नेपालबीच रहेको विशिष्ट सम्बन्धको महत्वमाथि प्रकाश पार्दै नेपालमा महिला सशक्तिकरणका लागि बृहत्तर सामूहिक प्रयासको आवश्यकता रहेको बताइन्। कार्यक्रमलाई सम्बोधन गर्दै अनुराधा कोइरालाले माइती नेपालले गर्दै आएको पहल एवम् बृहत कार्यक्रम बारे जानकारी गराइन् । उनले राजदूतावासको निरन्तर साथ र सहयोगका लागि धन्यवाद समेत व्यक्त गरिन् ।

कार्यक्रममा शाक्य र नियोग श्रीवास्तवले गायिका मेनुका पौडेल र रत्न कुमारी सुनुवारलाई उनीहरुको प्रेरणादायी उपलब्धिका लागि सम्मान गरिएको थियो। गायिका पौडेलले आफ्नो गायन प्रतिभाको माध्यमबाट नेपाल र भारतमा र पछिल्लो समय इन्डियन आइडल (२०२३) मा प्रशंसा बटुल्न सफल भएकी थिइन् । श्रीमती रत्न कुमारी सुनुवारले ८० वर्षको उमेरमा गत वर्ष कक्षा १२ उत्र्तीण गरेपछि अध्ययनमा उमेरले कुनै बाधा नपार्ने रहेछ भन्ने देखाउदै चर्चा कमाएकी थिइन् । सो अवसरमा भारतीय राजदूतावासले माइती नेपालका विद्यार्थीहरुलाई उपहार स्वरुप पुस्तक प्रदान गरेको थियो ।

भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रममा काठमाडौंका महिला वाद्यवादकहरुले सांगीतिक प्रस्तुति र माइती नेपालका छात्राहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । सो अवसरमा गायिका पौडेलले पनि सुमधुर गीतहरु गाएर दर्शकलाई मोहित बनाएकी थिइन् ।

भारत र नेपालबीचको बलियो सम्बन्धलाई प्रवर्द्धन गर्न र बालिका एवम् महिला सशक्तिकरणका लागि नेपाल सरकारको प्रयासलाई सघाउ पुर्याउन प्रतिवद्ध रहेको भारतीय राजदूतावास काठमाडौंले जनाएको छ ।