समाचार

शिक्षामन्त्री सुमना श्रेष्ठमाथि उठेको विवाद: पोल्याण्डको पीआर लिएको आरोपमा पत्र पठाइयो

शिक्षामन्त्री सुमना श्रेष्ठमाथि उठेको विवाद: पोल्याण्डको पीआर लिएको आरोपमा पत्र पठाइयो

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई पोल्याण्डको स्थायी आवास (पीआर) लिएको विषयमा स्पष्टीकरण माग्दै पत्र पठाएको छ। नेपाली नागरिकतासँगै पोल्याण्डको पीआर लिएको भन्ने उजुरीको छानबिनका लागि यो पत्र पठाइएको हो।

श्रेष्ठले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा एक भिडियो पोष्ट गर्दै केन्द्रबाट अत्यन्त जरुरी पत्र आएको बताइन्। उनले भनेकी छिन्, "मेरो नाममा पत्र आएको छ, जुन अत्यन्त जरुरी छ।"

श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेपाली नागरिकतासँगै यूरोपेली देश पोल्याण्डको पीआर लिएको आरोपमा उजुरी परेको थियो। अख्तियारले सतर्कता केन्द्रलाई यसबारेमा अनुसन्धान गर्न पत्राचार गरेको थियो। त्यसपछि केन्द्रले शिक्षामन्त्री श्रेष्ठलाई पत्र लेखी स्पष्टीकरण मागेको हो।

मन्त्री श्रेष्ठले भनेकी छिन्, "मसँग नेपाली नागरिकता बाहेक कुनै पनि देशको पीआर वा ग्रिन कार्ड छैन।" पोल्याण्डका नागरिकसँग विवाह गरेकी श्रेष्ठलाई त्यहाँको पीआर लिएको भन्दै उजुरी परेको थियो। उजुरीमा नागरिकता दुरुपयोग गरेको, दोहोरो नागरिक भएको तथा बैंक खाता खोल्दा अनियमितता गरेको आरोप लागेको थियो।

उनका श्रीमान् पोल्याण्डका नागरिक हुन्। तर, श्रेष्ठले पोल्याण्डको पीआर नलिएको स्पष्ट पारेकी छिन्। उनले भनिन्, "मैले २० वटा जति देश भ्रमण गरेको छु। कुनै देशको पनि ग्रिन कार्ड वा पीआर लिएको छैन। लिने प्रक्रिया के हो त्यो समेत थाहा छैन।"

श्रेष्ठले आफ्नाविरुद्ध उजुरी परेपछि मात्रै पीआर र ग्रिन कार्ड लिने प्रक्रियाबारे बुझेको बताइन्। उनले भनिन्, "म जति दिन मन्त्री भएकी छु, त्योभन्दा पनि कम समय पोल्याण्ड बसेकी छु। पोल्याण्डमा निश्चित मापदण्ड पुरा गरेपछि मात्रै त्यहाँको पीआर पाइन्छ। त्यसबारे बुझ्न मलाई १० देखि १५ घण्टा लाग्यो।"

उनले कुनै विदेशीसँग बिहे गरेपछि पीआर पाउँछ भन्ने कुरा सत्य नभएको बताउँदै, विदेशीसँग बिहे गर्दा पनि पीआर लिनु अनिवार्य नभएको स्पष्ट पारेकी छिन्। उनले थप भनिन्, "पीआर लिएको भए प्रमाण दिन सकिने तर नलिएको कसरी प्रमाण दिने?"

श्रेष्ठले सन् २००३ मा अध्ययनका लागि नेपाल बाहिर गएकी थिइन्। विदेशमा रहँदा उनले पढ्नाका साथै काम समेत गरेकी थिइन्। तर, उनले कुनै पनि देशको पीआर वा ग्रिन कार्ड नलिएको बताइन्।

"ट्याबलोइड सञ्चार माध्यममा सीमित रहँदासम्म जवाफ दिन जरुरी नठानेको बताउँदै अहिले राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेपछि जवाफ दिन बाध्य भएकी हुँ," उनले भनिन्। "आरोप आफैमा अस्पष्ट छ, कुन देशको पीआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ। तर, छानबिनमा पूरा सहयोग गर्नेछु।"

सुमना श्रेष्ठ