समाचार

कांग्रेस–एमालेको तयारी: आजै ओली सरकार गठन हुने !

कांग्रेस–एमालेको तयारी: आजै ओली सरकार गठन हुने !

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने प्रक्रियापछि कांग्रेस र एमालेले साना दलहरूको समर्थनसहित नयाँ सरकार गठनको दाबी पेस गर्ने तयारी गरेका छन्। दुई दलले दुईतिहाइ सांसदको हस्ताक्षर संकलन गरी तयार अवस्थामा राखेका छन्।

बिहीबार रातिको समझदारीअनुसार, प्रचण्डले विश्वासको मत नपाउने निश्चित भएपछि कांग्रेस र एमाले नयाँ सरकार गठनको प्रक्रियामा अघि बढेका हुन्। संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार गठनको दाबी पेश गर्ने योजना छ।

राष्ट्रपतिको आह्वानपछि एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न आवश्यक कागजात प्रस्तुत गर्ने तयारी गरेका छन्। साना दलहरूको समर्थन जुटाउन मन्त्रालय बाँडफाँट र मन्त्री छनोटको प्रारम्भिक गृहकार्य पनि सम्पन्न भइसकेको छ। 

कांग्रेस र एमालेले २१ मन्त्रालयमध्ये एमालेले १० र कांग्रेसले ११ मन्त्रालय लिने सहमति गरेका छन्। साना दललाई मन्त्रालय बाँडफाँटमा समावेश गर्न प्रस्ताव गरिएको छ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विश्वासको मतको प्रस्ताव विपक्षमा दुईतिहाइ मत पर्ने अनुमान गरेका छन्। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास जारी रहेको बताए। 

आजको संसद् प्रक्रियापछि नयाँ सरकार गठनको औपचारिक प्रक्रिया सुरु हुनेछ।