कला साहित्य

"म वराहक्षेत्रमा जल समाधि लिँदै छु। अलबिदा"

राम्जी बेपत्ता: अहिलेसम्म कुनै सुराग फेला परेको छैन

"म वराहक्षेत्रमा जल समाधि लिँदै छु। अलबिदा"

सुनसरीको इटहरी उपमहानगरपालिका २ आँपगाछी निवासी डा. राम्जी तिम्सिना बेपत्ता भएका छन् र अहिलेसम्म कुनै सुराग फेला परेको छैन। उनले घरमा "म वराहक्षेत्रमा जल समाधि लिँदै छु। अलबिदा" भन्ने सन्देश लेखेर बेपत्ता भएका हुन्।

डा. तिम्सिना त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुन्। परिवारले उक्त नोट भेटेपछि इलाका प्रहरी कार्यालय इटहरीमा खोजीको लागि निवेदन दिएको छ। परिवारका अनुसार उनी बिहानै कम्प्युटर नजिक नोट राखेर बेपत्ता भएका थिए।

प्रहरी कार्यालय इटहरीले निवेदन पाएको र खोजी कार्य जारी रहेको जनाएको छ। परिवारले फोटोसहित हुलिया दिएको र मोबाइल पनि अन नै रहेको जनाइएको छ। प्रहरीले लोकेसन एउटै देखाइरहेको बताएको छ।

डा. तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन गर्थे। उनले किन जल समाधि लिने अवस्था आयो भन्ने खुल्न सकेको छैन। परिवारले पनि यसबारे कुनै जानकारी दिएको छैन। उनी डायस्पोरा विषयमा विद्यावारिधि गरेका थिए र समालोचना क्षेत्रमा रुचि राख्थे। बेपत्ता भएपछि उनका शुभचिन्तकहरूले चिन्ता व्यक्त गरेका छन्।

सुनसरी प्रहरीले वराहक्षेत्र मन्दिर आसपास खोजी कार्य गरिरहेको छ। फोन लागिरहेकोले कतै लुकेर बसेको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विपीन रेग्मीले "हाम्रोतर्फबाट र परिवारको तर्फबाट पनि व्यापक खोजी भइरहेको छ" बताएका छन्।

धरान र इटहरीका अधिकांशको फेसबुकमा "चाँडै सकुशल फर्किनुहोस्" भन्ने आशयका विचार व्यक्त गरिएका छन्। महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, "राम्जी सर, तपाईं चाँडै सकुशल फर्किनुहोस्। नेपाली साहित्यमा तपाईंले अझै धेरै गर्न बाँकी छ।"

तिम्सिनालाई चिनेका व्यक्तिहरूका अनुसार परिवारमा लामो समयदेखि बेमेल रहेको थियो। भाषाविद् प्रा.डा. टङ्क न्यौपानेले पनि पारिवारिक बेमेल रहेको सुनेको बताए। जल समाधि लिनुपर्ने अवस्था किन आयो भन्ने खुल्न सकेको छैन।

र यो पनि, 

किन जल समाधि लिने अवस्थामा पुगे राम्जी?