समाचार

अचम्म: नेपालका गाईहरू संगीत सुन्छन्, प्रसस्तै दुध दिन्छन्

अचम्म: नेपालका गाईहरू संगीत सुन्छन्, प्रसस्तै दुध दिन्छन्
  • अनिल पराजुली, हेटौँडा

संस्कृतमा एउटा श्लोक छ:

साहित्य सङ्गीत कलाविहीनः साक्षात्पशुः पुच्छविषाणहीनः।
तृणं न खादन्नपि जीवमानस्तद्भागधेयं परमं पशूनाम्।।

अर्थात् साहित्य, सङ्गीत र कला नभएको मान्छे सिङ र पुच्छर नभएको जनावर सरह हो, जो घाँस नखाएर पनि बाँच्न सक्छ। यसले जनाउँछ कि जनावरहरूमा पनि साहित्य, कला, र सङ्गीतको चेत हुन्छ। श्रीकृष्णको मुरलीको धुनले गाई मोहित भएको पौराणिक कथाजस्तै, आधुनिक संसारमा पनि गाई सङ्गीतले पग्रिन्छन्। मकवानपुरको चित्लाङस्थित बाख्रा विकास फार्ममा यस्तै घटना देख्न सकिन्छ। यहाँ गाई फार्ममा रेडियोमा सुमधुर गीत गुञ्जिन्छ र गाईहरू लठ्ठ पर्छन्।

त्यहाँ दुध दुहुने बेला न त बाच्छाबाच्छी छाडिएका हुन्छन्, न माउले नै बाच्छाबाच्छी खोज्छन्। रेडियोमा गीत बज्नासाथ गाईहरू पग्रिन्छन्। गोठमा रहेका १० वटा जर्सी गाई गीत सुन्दा आनन्दित हुन्छन्। बिहान एफएम रेडियोका भजन र आधुनिक गीत बजिरहेका बेला गाई पग्रिन्छन्, साँझ पनि उस्तै हुन्छ।

बाख्रा विकास फार्म चित्लाङका प्रबन्धक विश्वेश्वरप्रसाद यादवका अनुसार, त्यहाँ बाख्रासँगै भेडा, खरायो र गाईपालन पनि गरिएको छ। गाई ब्याउनेबित्तिकै बाच्छाबाच्छी नलगाई रेडियो बजाएर दुहुने बानी पार्ने गरिएको छ। "दुहुने बेला धुन सुनेर सबै गाई दुध दिन तयार हुन्छन्, हामी बाच्छा नलगाई सिधै धुन बजाउँछौँ, त्यही धुन सुनेर गाईले दुध दिन्छन्," उहाँले भन्नुभयो। यस विधिमा सातदेखि १० मिनेटमा गाई पग्रिन्छ। बाच्छाबाच्छीका कारण गाईको थुनमा घाउ र थुनेलो हुने भएकाले त्यो बानी हटाएर सिधै सङ्गीतको धुनमा दुहुने गरिएको उहाँको भनाइ छ।

"बिहान ६ देखि ७ बजेभित्र दुहुन्छौँ, त्यो बेला रेडियोमा भजन बज्छ। दिउँसो साढे ३ देखि साढे ४ बजेसम्म अरू राम्रो धुन बजाउँछौँ," यादवले थप्नुभयो। दुध दुहुने बेला एकाग्र र तनावमुक्त भएका बेला गाईले क्षमता अनुसारको दुध दिने उहाँको भनाइ छ। मानवदेखि कीराफट्याङ्ग्रासम्म सबै सङ्गीतमा रमाउने हेटौँडाका सङ्गीतकार सुदीप क्षेत्रीको तर्क छ। पौराणिककालमा भगवान कृष्णले बाँसुरी बजाउँदा गाई जम्मा भएर सुन्ने गरेको उहाँले उल्लेख गर्नुभयो। "सुन्न सक्ने क्षमता भएका सबैलाई सङ्गीतले मोहित पार्न सक्छ। सङ्गीतको धुनले गाईलाई आनन्दित तुल्याउँछ, यसो गर्दा गाईले दुध पनि धेरै दिन्छ," उहाँ भन्नुहुन्छ। मकवानपुरको हाँडीखोलास्थित पशुपति माविका प्रधानाध्यापक भानुभक्त आचार्य रेडियो बजेपछि कुखुराले नियमित दाना खाइरहने अर्को अनुभव सुनाउनुहुन्छ। पशु सेवा कार्यालय मकवानपुर हेटौँडाका वरिष्ठ पशु चिकित्सक वज्रकिशोर ठाकुर सङ्गीतले प्राकृतिक रूपमा मन मुटुमा छुने र मनोवैज्ञानिक रूपमा मानव र पशुलाई आनन्दित बनाउने तर्क गर्नुहुन्छ।

"सङ्गीतले तनाव घटाउँछ, तनावको हर्मोन कम उत्पादन हुँदा मानसिक तनावमुक्त गाईले बढी दुध दिन्छन्," वरिष्ठ पशु चिकित्सक ठाकुरले भन्नुभयो। गाउँघरमा गाईभैँसी दुहुने बेला रेडियो बजाउनुका साथै कुखुरापालकले रेडियो बजाउने उहाँले उल्लेख गर्नुभयो। जर्नल अफ इन्डोक्राइनोलोजीमा प्रकाशित शोध अनुसार गाईको दुधमा पाइने पौष्टिक तत्त्व गाईको खुसीमा निर्भर हुन्छ। 

अर्थात् गाई जति खुसी हुन्छ, उसको दुध उति नै धेरै पोसिलो हुन्छ। शोधले अधिक खुसी रहेको गाईको दुधमा क्याल्सियम बढी हुने देखाएको छ। दक्षिण अफ्रिकाको प्रिटोरिया विश्वविद्यालयले १५ मार्च २०२३ मा गरेको एक अध्ययनमा सङ्गीतले गाईलाई आराम दिने र दुध बढाउने उल्लेख छ। शास्त्रीय सङ्गीत बजाउँदा गाईको तनावको स्तर कम हुने हुँदा दुध उत्पादन बढ्ने यसमा उल्लेख छ।

बाख्रा विकास फार्म चित्लाङमा गत वर्षको असार १५ गतेदेखि १० वटा जर्सी गाईपालन गरिएकोमा हाल बाच्छाबाच्छीसहित १७ वटा पुगेका छन्। १० मध्ये आठ वटा गाईले एक सय लिटरभन्दा बढी दुध दिइरहेका छन् र दुई गाई ब्याउने अवस्थामा छन्। बाच्छाबाच्छीलाई यहाँ शारीरिक तौल अनुसार दुहेको दुध खुवाउने गरिएको छ। गाई फार्मका लागि तीन कर्मचारी छन्। यसअघि स्थानीय बजारमा काठमाडौँबाट दुध आउने गरेकोमा फार्म उत्पादनसँगै काठमाडौँबाट आउन रोकिएको छ। यो सामाग्री गोरखापत्र अनलाईनबाट साभार गरिएको हो।