समाचार

प्रधानमन्त्री ओलीको भियतनाम कम्युनिष्ट पार्टीका महासचिव गुयेन फु ट्रोङको निधनमा समवेदना

प्रधानमन्त्री ओलीको भियतनाम कम्युनिष्ट पार्टीका महासचिव गुयेन फु ट्रोङको निधनमा समवेदना

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भियतनामको कम्युनिष्ट पार्टीका महासचिव गुयेन फु ट्रोङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीलाई समवेदना सन्देश पठाउनु भई महासचिव ट्रोङको निधनको खबर सुनेर अत्यन्त दुःख लागेको जनाउनुभएको छ। सन्देशमा उहाँले आफू, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र सम्पूर्ण नेपाली जनताको तर्फबाट स्वर्गीय नेता ट्रोङको परिवार, भियतनाम कम्युनिष्ट पार्टी, केन्द्रीय कमिटी र भियतनामका जनतामा समवेदना व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले महासचिव ट्रोङको निधन भियतनामको कम्युनिष्ट पार्टी, भियतनाम सरकार र भियतनामका सम्पूर्ण जनताका लागि एक ठूलो क्षति भएको उल्लेख गर्दै भियतनाममा शान्ति स्थापना र समृद्धिको लागि उहाँको योगदान धेरै पुस्तासम्म सम्झना भइरहने जनाउनुभएको छ। 

प्रधानमन्त्री ओलीले आफू सन् २०१९ मा भियतनामको औपचारिक भ्रमणमा रहँदा महासचिव ट्रोङसँग भएको सौहार्दपूर्ण भेट र उक्त अवसरमा विकासका लागि साझा दृष्टिकोण, आपसी समझदारी, नेपाल र भियतनामबीचको बलियो मित्रताका सम्बन्धमा भएको छलफलको स्मरण गर्नुभएको छ।