समाचार

'महाभ्रष्टाचार'को आरोप लागेका नागरिक उड्डयन प्रमुखको बर्खास्तीको माग गर्दै आन्दोलन

'महाभ्रष्टाचार'को आरोप लागेका नागरिक उड्डयन प्रमुखको बर्खास्तीको माग गर्दै आन्दोलन

काठमाडौं, २७ साउन २०८१ - आज काठमाडौंको माइतीघर मण्डलामा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बर्खास्तीको माग गर्दै र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी सत्यतथ्य छानबिनको मागसहित विशाल रैली सम्पन्न भएको छ। यो रैली राष्ट्रिय एकता अभियानको आयोजनामा सम्पन्न भएको हो।

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा भएको यो रैलीमा सयौं नागरिक, विद्यार्थी, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। रैलीमा पोखरा विमानस्थल चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को हिस्सा नभएको स्पष्ट पार्दै, विमानस्थल निर्माणमा भएका प्राविधिक त्रुटीहरूलाई तुरुन्त समाधान गर्नुपर्ने माग गरियो।

प्रदर्शनकारीहरूले “पोखरा विमानस्थल बीआरआईको भाग होइन”, “प्राविधिक त्रुटीको समाधान गर, चीनको हस्तक्षेप रोक!” जस्ता नाराहरू लगाउँदै, विमानस्थलसँग सम्बन्धित विभिन्न मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराए। उनीहरूले चिनियाँ राजदूतले माफी माग्नुपर्ने, नेपालमा चीनको भू-राजनीतिक खेलको विरुद्धमा एकजुट हुनुपर्ने, र पोखरा विमानस्थललाई ऋण जालबाट मुक्त गर्नुपर्ने मागहरू पनि अघि सारे।

रैलीका क्रममा प्रदर्शनकारीहरूले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको तस्वीर जलाउँदै, विमानस्थल निर्माणमा संलग्न अधिकारीहरूको बर्खास्तीको माग गरे। उनीहरूले विमानस्थलको निर्माण प्रक्रियामा भएको अनियमितता र भ्रष्टाचारलाई 'महाभ्रष्टाचार' भन्दै, यसको सत्यतथ्य छानबिन गर्न सरकारलाई दबाब दिए।

रैलीलाई सम्बोधन गर्दै अभियानका वरिष्ठ नेता तथा संविधान सभा सदस्य बिपी यादवले सरकारलाई चीनको हस्तक्षेप रोक्न र राष्ट्रको स्वाधीनता तथा आत्मसम्मानको रक्षा गर्न आग्रह गरे। उनले विमानस्थलको प्राविधिक त्रुटीहरूलाई शीघ्र समाधान गर्न र चिनियाँ पक्षको हस्तक्षेपलाई अन्त्य गर्न जोड दिए।

रैली शान्तिपूर्ण रूपमा सम्पन्न भयो, र सहभागीहरूले आफ्ना मागहरू सरकारसम्म पुर्‍याउने प्रतिवद्धता जनाए।