कभर स्टोरी

महानिर्देशकको बर्खास्ती माग! राष्ट्रिय एकता अभियानको चेतावनी: 'भ्रष्टाचार र असफलता अन्त्य गर!

महानिर्देशकको बर्खास्ती माग! राष्ट्रिय एकता अभियानको चेतावनी: 'भ्रष्टाचार र असफलता अन्त्य गर!

राष्ट्रिय एकता अभियानले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको असफलता र भ्रष्टाचारको आरोपमा उनलाई तुरुन्त बर्खास्त गर्न सरकारसँग जोडदार माग गरेको छ। अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा संगठनले देशभरि विरोध प्रदर्शन गर्दै नागरिक उड्डयन प्राधिकरणको नेतृत्वमा व्यापक असफलता भएको र यसले सम्पूर्ण हवाई सुरक्षालाई खतरामा पारेको दाबी गरेको छ।

राष्ट्रिय एकता अभियानले सरकारलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित बाँकी मागहरू पनि तत्काल पूरा गर्न आग्रह गरेको छ। प्रमुख मागहरूमा पोखरा विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउन, निर्माणमा भएको भ्रष्टाचारको छानबिन गर्न, विमानस्थललाई बीआरआईको हिस्सा भनेर बदनाम गर्ने चिनियाँ राजदूतसँग स्पष्टिकरण माग गर्न, र चर्को ब्याजदरको ऋणलाई अनुदानमा बदल्न थप पहल गर्नुपर्ने छन्।

अभियानले सरकारको हालको निर्णयलाई स्वागत गर्दै, चीन सरकारसँग लिइएको ऋणलाई अनुदानमा परिणत गर्न नेपाल सरकारले चीनलाई औपचारिक पत्राचार गरेको निर्णयलाई राष्ट्रको आर्थिक स्वाधीनता र दीर्घकालीन हितका लागि महत्वपूर्ण निर्णयको रूपमा मानेको छ। तर, यसले अभियानका अन्य मागहरूलाई पनि बेवास्ता गर्न नहुने बताएको छ।

विनय यादवले भने, "नागरिक उड्डयन क्षेत्रको सुरक्षा र विकासलाई सुनिश्चित गर्न भ्रष्ट र असफल नेतृत्वलाई बर्खास्त गर्नु अनिवार्य छ।" उनले थपे, "हामी हाम्रो आन्दोलनलाई तबसम्म जारी राख्नेछौं, जबसम्म हाम्रा सम्पूर्ण मागहरू पूरा हुँदैनन्।"

राष्ट्रिय एकता अभियानले सरकारलाई नागरिक उड्डयन प्राधिकरणको असफल नेतृत्वलाई बर्खास्त नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएको छ। यसका साथै, अभियानले आफ्नो संघर्षलाई राष्ट्रिय स्वाभिमान र आर्थिक स्वाधीनताको पक्षमा निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ।