राजनीति

रवि लामिछाने जेल जानेछन्, चुनावमा कहिल्यै भाग लिन पाउने छैनन्: मुकुल ढकाल

रवि लामिछाने जेल जानेछन्, चुनावमा कहिल्यै भाग लिन पाउने छैनन्: मुकुल ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई राहदानी प्रकरणमा जेल जान सक्ने र कहिल्यै चुनाव लड्न नपाउने स्थिति आउने बताएका छन्।

रास्वपाले सोधेको स्पष्टीकरणको जवाफमा ढकालले रवि लामिछानेमाथि सहकारीमा ठगी, मन्त्री हुँदा भ्रष्टाचार, र राहदानी दुरुपयोग गरेको आरोप लगाउँदै आफूले यी सबै प्रमाणित गर्न सक्ने दाबी गरेका छन्।

उनले भनेका छन्, "मलाई ‘पुनः स्पष्टीकरण पेश गर्ने’ विषयमा २०८१/०५/०५ गते कविन्द्र बुर्लाकोटी हस्ताक्षरित पत्र प्राप्त भयो। मैले मिति २०८१/०४/२८ मा तपाईँ रवि लामिछानेलाई सम्बोधन गरी कारबाहीको कागजात प्रमाणहरूको प्रतिलिपि माग गरेको थिएँ। तर, उल्टै स्पष्टीकरणको पत्र पठाउनुभयो, जुन विधि विधान विपरीत हो। मेरो माग बमोजिम कागजात उपलब्ध गराउनुहोस्।"

उनले थपे, "पार्टीलाई तपाईँ रवि लामिछानेको निरंकुशता, व्यक्ति केन्द्रित व्यवहार र सोचबाट जोगाउन म लडिरहेको छु। तपाईँलाई सहकारी ठगी, भ्रष्टाचार, र राहदानी दुरुपयोगको अपराधमा जेल जानुपर्ने स्थिति आउन सक्छ। आफू ठगी, भ्रष्टाचारी, र अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा ममाथि कारबाहीको प्रयास गर्नु हुँदैछ।"

ढकालले रवि लामिछानेमाथि प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु नभएर, पार्टी शुद्धीकरणको प्रयास भएको बताएका छन्। उनले रवि लामिछानेको नेतृत्वमा पार्टीमा लोकतन्त्रको समाप्ति भइरहेको र प्रश्न सोध्नेलाई दण्ड दिने प्रचलन स्थापित भइरहेको आरोप लगाएका छन्।

उनले भने, "हामीले पार्टी स्थापना गर्दा लोकतान्त्रिक पार्टीको परिकल्पना गरेका थियौं, तर आज पार्टीमा लोकतन्त्रको अस्तित्व मात्र छैन। तपाईँजस्तो ठग, भ्रष्ट, र अपराधीको पञ्जाबाट पार्टीलाई मुक्त गराउन म लडिरहेको छु। यसरी म पार्टी र जनताको हितका लागि लडिरहँदा, ममाथि कारबाही गर्नु लोकतन्त्रमाथि आक्रमण हुनेछ।"

ढकालले पार्टीको हितका लागि लडिरहँदा गरिने कुनै पनि कारबाही पार्टी विधान, नियमावली, र नेपालको संविधानविपरीत हुने बताएका छन्।