कभर स्टोरी

लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतको दाबी जायज छ: मेटमणि चौधरी

लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतको दाबी जायज छ: मेटमणि चौधरी

काठमाडौं, भदौ २६ – नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतको दाबी जायज रहेको बताएका छन्। मंगलबार प्राइम टाइम्स टेलिभिजनको "जनता जान्न चाहन्छन्" कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै चौधरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले चुच्चे नक्सा जारी गरेर जनतालाई भ्रमित बनाएको आरोप लगाए।

चौधरीले ओलीजस्ता नेताहरूले विगतमा महाकाली नदी भारतलाई बेचेको तर अहिले चुच्चे नक्सा निकाली विवादित क्षेत्रमा दाबी गरेको बताए। उनले नक्सा सार्वजनिक भएपछि भारतलाई कति पटक कूटनीतिक नोट पठाइयो भन्ने प्रश्न उठाउँदै, महाकाली सन्धिपछि भारतले महाकाली नदीको आधा भाग आफ्नो भएको दाबी गर्न थालेको उल्लेख गरे। चौधरीले तत्कालीन नेकपा (एमाले) का नेताहरूले महाकाली सन्धिमा खेलेको भूमिकाको आलोचना गरे।

"महाकाली सन्धिपछि भारतले नदीको आधा भाग मेरो हो भनेर दाबी गर्न थाल्यो। त्यतिबेला एमालेका नेताहरूले ठूलो भूमिका खेले। उनीहरूले त्यसबेला सबै ठिक हुन्छ भनेका थिए, तर अहिले चुच्चे नक्सा निकालेर दाबी गर्छन्। पहिले नदी बेचे, त्यसको कारणले भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा दाबी गरेको छ। मलाई लाग्छ, भारतको दाबी जायज छ, उसले त्यो क्षेत्र लिन पाउनु पर्छ। एकपटक बेचेपछि अहिले नक्सा जारी गरेर भन्न मिल्छ र?" चौधरीले भने।

उनले नेकपा (एमाले)लाई कोशी र गण्डकी नदी पनि भारतलाई बेचेको आरोप लगाउँदै राष्ट्रिय स्रोतको बिक्रीले दीर्घकालीन असर पार्ने र नक्सा निकालेर त्यसलाई सच्याउन नसकिने बताए।

उनको यो टिप्पणीले नेपाल र भारतबीच विवादित क्षेत्रको विषयलाई लिएर थप बहस निम्त्याएको छ।