प्रविधि

वैज्ञानिक छलफलमा ज्योती बानियाँ र हरिराम रिमालले गरे चमत्कारिक खुलासा, भविश्य कस्तो?

वैज्ञानिक छलफलमा ज्योती बानियाँ र हरिराम रिमालले गरे चमत्कारिक खुलासा, भविश्य कस्तो?

१२ औँ विज्ञान दिवसको पूर्वसन्ध्यामा नागार्जुन चौतारी (नाचौ) ले संस्थाका अध्यक्ष टेक बहादुर कार्कीको अध्यक्षतामा विज्ञान तथा प्रविधि सम्बन्धी एक विशेष छलफल कार्यक्रम आयोजना गर्यो। शशस्त्र प्रहरी बल हलचोकको कवर्ड हलमा सम्पन्न कार्यक्रममा गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडी प्रमुख अतिथि रहनुभएको थियो। उहाँले विज्ञान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेपालीहरूले विज्ञान र प्रविधिको प्रयोगबाट जीवनलाई समुन्नत बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो। दुवाडीले आफ्नो स्कुले जीवनको स्मरण गर्दै विज्ञान ऐच्छिक विषयबाट अनिवार्य विषयमा आएको परिवर्तनको प्रशंसा गर्नुभयो। उहाँले साइबर अपराधको बढ्दो खतरा औंल्याउँदै भविष्यमा वडा–वडामा साइबर साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरा पनि राख्नुभयो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले विज्ञान र प्रविधिमा लगानीले आयातमुखी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्ने धारणा व्यक्त गर्दै, विज्ञान र प्रविधिमा पर्याप्त लगानी नगरेसम्म राष्ट्रिय सुरक्षाको उचित व्यवस्थापन सम्भव नहुने कुरा उल्लेख गर्नुभयो। उहाँले विज्ञान प्रविधि राष्ट्र विकासको लागि अपरिहार्य भएको जिकिर पनि गर्नुभयो।

कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले नगरपालिकाले प्रविधि क्षेत्रमा गरेका पूर्व उपलब्धिहरू र भावी योजनाबारे मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमका सल्लाहकार र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाँले स्वागत मन्तव्य राख्दै संस्थाको मूल उद्देश्य व्यक्ति र समाजलाई स्वस्थ बनाउनेतर्फ केन्द्रित रहेको बताउनुभयो। बानियाँले संस्थाको आगामी योजनाहरूलाई पनि समर्थन गर्दै यसले व्यक्तिलाई सशक्त र समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो।

प्रविधि क्षेत्रका जानकार हरिराम रिमालले मुख्य कार्यपत्र प्रस्तुत गर्दै विज्ञानको अवधारणागत विकास, प्रविधिको महत्व, र आर्टिफिसियल इन्टेलिजेन्सका विविध आयामहरूको विस्तृत व्याख्या गर्नुभयो। रिमालले वैज्ञानिक अनुसन्धान र प्रविधिको नवीनतम प्रयोगले समाजमा ल्याएको परिवर्तनबारे जानकारी दिनुभयो। अर्का कार्यपत्र प्रस्तोता डा. अनु शाक्यले स्वास्थ्य क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सको भूमिका र त्यसको प्रयोगबारे आफ्नो प्रस्तुति दिनुभयो।

डा. ध्रुव रेग्मीले विज्ञान र प्रविधि मानव सभ्यताको चुनौतीको रूपमा आइरहेकाले यसको नकारात्मक पक्षहरूको न्यूनिकरण गर्न विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। 

विद्यार्थी नमुना खड्काले विज्ञान सम्बन्धी कविता प्रस्तुत गरेर कार्यक्रमलाई थप साहित्यिक रंग दिनुभयो। कार्यक्रमको अन्त्यमा सभापति टेक बहादुर कार्कीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो। 

कार्यक्रममा शिक्षा क्षेत्रका जानकार राजेन्द्र बराल, आयोजक संस्था नागार्जुन चौतारीका पदाधिकारी, तथा सदस्यहरूको उपस्थिती रहेको थियो।