समाचार

ओलीसँगको तनावबीच बालेन्द्रको राजनीतिक अस्पष्टता: उनी संविधानको पक्षमा छन् कि विपक्षमा?

ओलीसँगको तनावबीच बालेन्द्रको राजनीतिक अस्पष्टता: उनी संविधानको पक्षमा छन् कि विपक्षमा?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको पछिल्लो तनावले काठमाडौँका सार्वजनिक कार्यक्रमहरूमा पनि असर पुर्‍याएको छ। काठमाडौँ दरबार स्क्वायरमा हालै मनाइएको इन्द्रजात्रामा बालेन उपस्थित हुन नसकेका हुन् भने उनको समर्थकहरूलाई पनि कार्यक्रममा प्रवेश गर्न दिइएन। ती समर्थकहरूले उस्तै रंग र चित्र भएको टी-शर्ट लगाएका थिए, जुन एउटै प्रेसमा छापिएको थियो। उनीहरूको संगठित उपस्थिति र आवाजले उनीहरूलाई प्रायोजित समर्थक ठानिएको छ।

आज संविधान दिवसको अवसरमा सरकारले विशाल कन्सर्ट र टुँडिखेलमाऔपचारिक कार्यक्रमको आयोजना गरेको छ, जुन काठमाडौँ महानगरपालिका क्षेत्र भित्र पर्छ। तर, महानगरका मेयर बालेन कुनै पनि रूपमा सहभागी छैनन्, न त उनले संविधान दिवसको सन्देश नै दिएका छन्। यसले उनको संविधानप्रतिको धारणा के हो भन्नेबारे गम्भीर प्रश्न खडा गरेको छ। 

बालेन संविधानको विरोधी हुन् कि समर्थनमा छन् भन्ने प्रश्नले अहिले चर्चा पाएको छ। अझै, बालेन गणतन्त्रका पक्षमा छन् कि राजतन्त्रको पुनःस्थापनाको पक्षमा भन्ने अन्योलता छ।

भविष्यमा पार्टी खोल्ने चाहना राख्ने नेताले आफ्नो राजनीतिक दृष्टिकोण स्पष्ट गर्नु पर्ने माग बढिरहेको छ। कहिलेकाहीं बालेनको अभियान अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको जस्तो देखिन्छ, जहाँ सफासुग्घर मानिसहरूले पश्चिमी शैलीका पोस्टरसहित प्रदर्शन गर्छन्। बालेनका र्याप गीतहरू पनि पश्चिमबाट प्रभावित छन् भने उनको लुगा लगाउने शैली भने विशिष्ट रहेको छ।

यो अस्पष्टताले बालेनको राजनीतिक भविष्यलाई मात्र नभई राष्ट्रिय नेताको रूपमा उनको नेतृत्व क्षमतामा पनि प्रश्न उठाएको छ। यदि उनी भविष्यमा राष्ट्रिय नेता बन्न चाहन्छन् भने यस्ता अस्पष्टताले उनको विश्वसनीयतामा बाधा पुर्‍याउन सक्छ।

बालेन्द्र शाह